काठमाडौं - इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो ।
सिटीलाई जित दिलाउन रोड्रीले निर्णायक गोल गरे । रोड्रीले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए । सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा रहेको सिटीले एकै सिजन 'ट्रेबल' उपाधि हात पारेको छ ।
यस अघि सिटीले प्रिमियर लिग र एफए कप जितेको थियो । सिटी ट्रेबल उपाधि जित्ने दोस्रो प्रिमियर लिग क्लब हो । यस अघि म्यानचेस्टर युनाईटेडले यो उपलब्धि हासिल गरिसकेको छ । ग्वार्डीओला तीन च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षक समेत बनेका छन् । यस अघि कार्लो एन्सोलोटी र जिनेदान जिदानले तीन च्याम्पियन्स लिग जिताएका छन् ।