काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रन सामान्य लक्ष्य पछ्याउने क्रममा सुरुवाती विकेट छिटो गुमाए पनि डेविड मलानको अविजित ३५ रन र कुशल मल्लसँगको महत्त्वपूर्ण साझेदारीको मद्दतले चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्र बनाउन सकेको थियो, जहाँ रञ्जित कुमारले घातक बलिङ गर्दै ३ ओभरमा मात्र २ रन खर्चेर ३ विकेट लिएका थिए।
चितवनको यस जितसँगै जनकपुर र कर्णाली याक्सको प्लेअफ सम्भावना समाप्त भएको छ भने यसअघि पोखरा एभेन्जर्स पनि प्लेअफ दौडबाट बाहिरिसकेको थियो। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेका छन् भने अब बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज र विराटनगर किंग्सबीच कडा प्रतिस्पर्धा हुनेछ। अन्तिम खेलअघि काठमाडौं ८ अंकसहित तेस्रो, चितवन ७ अंकसहित चौथो र विराटनगर ६ अंकसहित पाँचौं स्थानमा रहेका छन्।