अन्तिम बलको रोमाञ्चक भिडन्तमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई १ विकेटले पराजित गर्दै भारतले नवौँ पटक यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको ३३८ रनको विशाल लक्ष्य भारतले ९ विकेट गुमाउँदै अन्तिम ओभरको अन्तिम बलमा पूरा गर्यो । भारतको जितमा मोहित उल्वाले २६ बलमा अविजित ४९ रनको विष्फोटक पारी खेल्दै अन्तिम बलमा चौका प्रहार गरी टोलीलाई ऐतिहासिक सफलता दिलाए । भारतका लागि कप्तान लक्ष्य राजेश रायचन्दानीले ८० र आर्यवीर सहवागले ५८ रनको योगदान दिए भने मोहित र चिगुरुपति वेङ्कटाबीच अन्तिम विकेटका लागि ३० रनको महत्वपूर्ण साझेदारी बन्यो । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले उस्मान खानको शतक (१०७), अब्दुल कादिर (८०) र फरहान युसुफ (६३) को अर्धशतकको मद्दतमा ३३७ रन बनाएको थियो । यस जितसँगै भारतले समूह चरणमा पाकिस्तानसँग भोगेको हारको बदला समेत लिएको छ ।
#U19AsiaCup #INDvsPAK