काठमाडौं - टर्किमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा सहभागी हुन जानेहरूको लर्को लागेपछि सत्तापक्षका सांसद गणेश कार्कीले तीव्र असन्तुष्टि जनाएका छन्। कोपमा सहभागिताको विषयमा विगतमा जस्तै यसपटक पनि बेथिति देखिएको आशंका व्यक्त गर्दै सांसद कार्कीले व्यक्तिगत इच्छालाई सरकारी खर्चमा पूरा गर्न कसैले नपाउने बताएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले कोपमा देख्न र सिक्न पाइने कुरा धेरै भए पनि सरकारी ढुकुटीको दुरुपयोग गर्न नहुनेमा जोड दिएका छन्। उनले लेखेका छन्, “सधैँझैँ यसपाली पनि कोपमा जानेहरूको लर्को छ। वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि धेरै साथीहरू कोपका लागि टर्किए पुगेको, पुग्दै गरेको देख्छु। जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गरुन्। गर्नैपर्छ।” कोपमा जाने कतिपय व्यक्ति व्यक्तिगत खर्च वा विभिन्न संस्थाको प्रायोजनमा जाने गरे पनि राज्यको स्रोतसाधन दुरुपयोग हुने प्रवृत्ति रोकिनुपर्ने उनको भनाइ छ।