×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै साविक विजेता लुम्बिनी एनपीएलको फाइनलमा

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै साविक विजेता लुम्बिनी एनपीएलको फाइनलमा

काठमाडौँ - विकेटकिपर ब्याटर निरोसन डिकवेलाको अविजित अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा (२० बल बाँकी छँदै) ४ विकेट गुमाएर पूरा गरेको हो।

यो जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा पुग्दै उपाधि रक्षा गर्ने अभियानको निकै नजिक पुगेको छ। यता, विगतका दुई संस्करणको उपविजेता सुदूरपश्चिम भने पहिलो पटक क्वालिफायरमा पराजित भएको छ। हारका बावजुद सुदूरपश्चिमसँग अझै फाइनल पुग्ने एक मौका बाँकी नै छ। सुदूरपश्चिमले अब बुधबार हुने एलिमिनेटर (काठमान्डु गोर्खाज र चितवन राइनोज) को विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका लागि निरोसन डिकवेलाले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै अविजित ५९ रनको म्याच विनिङ इनिङ्स खेले। खाता नखोल्दै दोस्रो ओभरमा सुदूरपश्चिमका अभिनाश बोहराले क्याच ड्रप गर्दा जीवनदान पाएका डिकवेलाले त्यसको भरपूर फाइदा उठाउँदै टोलीलाई जिताए। २४ रनमै २ विकेट गुमाएर दबाबमा परेको लुम्बिनीको इनिङ्स डिकवेला र कप्तान रोहित पौडेलले ३८ रनको साझेदारी गर्दै सम्हालेका थिए। रोहितले २८ बलमा २१ रन जोडे भने विजयी छक्का प्रहार गरेका दिलीप नाथ १० रनमा अविजित रहे। सुदूरपश्चिमका थरिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले १–१ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्र बनाउन सकेको थियो। इनिङ्सको पहिलो बलमै ओपनर जर्ज मन्से आउट भएपछि धर्मराएको सुदूरपश्चिम ३.१ ओभरमा ८ रन बनाउँदा ३ विकेट गुमाएर निकै खराब अवस्थामा पुगेको थियो। चौथो ओभरमा क्रिजमा आएका कप्तान दीपेन्द्र सिंह ऐरीले इशान पाण्डेसँग मिलेर चौथो विकेटका लागि ६४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुऱ्याए। कप्तान दीपेन्द्रले ५१ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन बनाए भने इशान पाण्डेले २७ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन्।

बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिए भने शेर मल्लले पनि २ विकेट हात पारे। किशोर महतो र अभिषेक गौतमको नाममा १–१ विकेट रह्यो।

प्रतिकृया दिनुहोस्