काठमाडौँ- नाबालिग बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बुधबार तनहुँ जिल्ला अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार निर्वाचनको कारण देखाउँदै सरकारी वकिल कार्यालयले मुद्दा पेसीबाट हटाएको जानकारी दिए । ‘न्यायाधीश नै निर्वाचन अधिकृत हुनु भएकाले त्यता खट्नुपर्ने भएकाले आजको मुद्दालाई सरकारी वकिलको कार्यालयले हटाएको छ,’ वाग्लेले भने ।
नयाँ पेसी केही दिनमा तोकिने र अबको सुनुवाइबाट फैसला आउन सक्ने उनले बताए । यसैबीच, नवलपुर जिल्ला अदालतको फैसला विरुद्ध केही दिनमै उच्च अदालत पोखरामा पुनरावेदन गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । नवलपुर जिल्ला अदालतले नाबालिग बलात्कारको मुद्दामा शाहलाई सफाइ दिए पनि बालयौन दूराचारको मुद्दामा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्तिको फैसला सुनाएको थियो ।अभिनेता शाह अहिले तनहुँ कारागारमा छन् ।