×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

जापानका तीन सहरमा तमु ल्होसारको उत्सव, टोकियोदेखि ओकिनावासम्म सांस्कृतिक कार्यक्रमको तयारी

टोकियो। प्रवासमा रहेर पनि आफ्नो मौलिक भाषा, धर्म, भेषभूषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित जापानका तीन सहरमा तमु ल्होसार का तीनवटा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएका छन्। गुरुङ समाज जापानका केन्द्रीय तथा क्षेत्रीय समितिहरूको आयोजनामा टोकियो, ओकिनावा र कान्साईमा फरक -फरक मितिमा तमु ल्होसार विशेष कार्यक्रम हुन लागेका हुन् । गुरुङ समाज जापान क्षेत्रीय समिति कान्साईको आयोजनामा डिसेम्बर २७ मा दोस्रो तमु ल्होसार कार्यक्रम हुनेछ। दिउँसो १ बजेदेखि ईकुनो कुमिन सेन्टरमा सञ्चालन हुने कार्यक्रममा गुरुङ समुदायको मौलिक कला, संस्कृति र परम्परालाई प्राथमिकता दिइनेछ।

त्यसैगरी, गुरुङ समाज जापान क्षेत्रीय समिति ओकिनावाले डिसेम्बर ३० मा पहिलोपटक तमु ल्होसार साँझ आयोजना गर्ने भएको छ। साँझ ६ बजेदेखि Ryotei Naha मा हुने उक्त कार्यक्रमले ओकिनावामा रहेका नेपाली तथा गुरुङ समुदायलाई सांस्कृतिक उत्सवमार्फत एकताबद्ध गर्ने अपेक्षा गरिएको छ । यस्तै, गुरुङ समाज जापानको आयोजनामा जनवरी १ (शुक्रबार) मा टोकियोमा तेस्रो तमु ल्होसार सांस्कृतिक कार्यक्रम - २०२७ आयोजना हुनेछ। दिउँसो ३ बजेदेखि K-STAGE टोकियोमा हुने कार्यक्रममा गुरुङ समुदायको मौलिक पहिचान, भेषभूषा, कला र सांस्कृतिक प्रस्तुतिहरू समेटिनेछन्।

गुरुङ समाज जापानका केन्द्रीय अध्यक्ष युवराज गुरुङले तीनवटै सहरमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिँदै प्रवासमा आफ्नो मौलिक संस्कृति र परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताएका छन् । जापानमा रहेका गुरुङ समुदायले विभिन्न क्षेत्रमा क्षेत्रीय समिति विस्तार गर्दै भाषा, संस्कृति र परम्पराको संरक्षणका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छन्। तीन सहरमा हुन लागेका ल्होसार उत्सवले गुरुङ समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउने विश्वास गरिएको छ। आयोजकले जापानवासी सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई तमु ल्होसारको उत्सवमा साथ दिन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्