काठमाडौं - क्यानको आयोजनामा संचालनमा भइरहेको नेपाल टी–२० लिगमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल मंगलबार नहुने स्थितिमा पुगेको छ । नेपाल क्रिकेट संघ (क्यान)को प्राविधिक टोलीले टसका लागि टिम लिस्ट बुझाउन जाँदा दुवै टिमलाई 'हाम्रा आन्तरिक विषय छन् । लिस्ट लिन्नाैं' भनेपछि टस नै नहुने स्थितिमा पुगेको हो ।
टस हुने तालिका बिहान साढे ८ बजेका लागि निर्धारण गरिएको थियो । खेल निर्धारित समयअनुसार बिहान सवा ९ बजे सुरु हुनुपर्नेमा अहिलेसम्म टससमेत भएको छैन ।
काठमाडौं, विराटनगरसहित जनकपुर रोयल्स र फारवेस्ट युनाइटेडका खेलाडीहरूले लिगका ६० प्रतिशतभन्दा बढी खेल भइसक्दा पनि कुनै पारिश्रमिक पाएका छैनन् । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले अघिल्लो दिनबाट आयोजकहरू नै सम्पर्कमा नआएको बताएका थिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक-पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो । सोमबारसम्म ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन् ।