काठमाडौँ। विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको जारी तेस्रो संस्करणमा ऐतिहासिक ह्याट्रिक विकेट लिएका छन्। एनपीएल सिजन ३ मा लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गर्ने सन्दीप पहिलो बलर बनेका हुन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सविरुद्धको महत्त्वपूर्ण खेलमा सन्दीपले यो कीर्तिमान बनाएका हुन्। समग्र एनपीएलको इतिहासमा भने यो चौथो ह्याट्रिक हो। यसअघि विराटनगरकै प्रतिश जिसी, काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका रोहित पौडेलले पनि एनपीएलमा ह्याट्रिक विकेट लिने कीर्तिमान रचेका थिए। प्लेअफको दौडमा जीवित रहन जित्नै पर्ने दबाबमा रहेको विराटनगरका लागि कप्तान सन्दीपको यो जादुयी बलिङ निकै निर्णायक साबित भएको छ।