कर्णाली प्रदेशको सरकारमा सहभागी सत्ता गठबन्धनका दलहरुमा किचलो सुरु भएको छ । सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) र सरकारको सहयात्री रहेको दल नेपाली कांग्रेसकाबीच सरकारको नेतृत्वलाई लिएर किचलो भएको हो । कर्णाली प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता रहेका जीवनबहादुर शाहीले कार्तिक १५ गतेसम्मको समयसीमा नै तोकेर हाल मुख्यमन्त्री रहेका माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले नेतृत्व आफूलाई दिनुपर्ने अडान राखेपछि गठबन्धनमा गडबडी भएको छ । नेता शाहीले मुख्यमन्त्रीसँग भेटघाट भईरहेको र भेटका क्रममा मुख्यमन्त्री शाहीले दिएको प्रतिक्रियाबाट आफू उत्साहित भएको बताएका हुन् ।
गत बैशाख २ गते मुख्यमन्त्री शाही र एमाले सांसद प्रकाश ज्वालाबीच भएको सहमति अनुसार पनि आफू मुख्यमन्त्री बन्न लागेको जिकिर शाहीको छ । मंगलबार राससलाई अन्तरवार्ता दिएका शाहीले भने, “अहिले विभिन्न अनलाइन र मिडियामा आएको कुराले नागरिकमा चासो हुनु स्वभाविकै हो । उहाँहरुले बेइमान गर्नुहुन्छ भन्ने पटक्कै लाग्दैन र गरेका दिनमा देखाजाएगा ।”गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेसको सहयोग लिएका थिए। विश्वासको मत लिँदै गर्दा उनले काँग्रेससँग आलोपालो सरकार सञ्चालन गर्नेबारे लिखित सम्झौतासमेत भएको थियो । मुख्यमन्त्री शाहीको समयावधि सकिन लागेकाले नेता शाहीले अब आफू मुख्यमन्त्री हुने पालो आएको बताए ।
यसरी संघीय सरकारमा सत्ताको लागि भागबण्डा गरेर गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० पार्टीले प्रदेश सरकारमा पनि सत्ताको लागि मोलमोलाई गर्न छोडेका छैनन् । सत्ता सहकार्यको उद्धेश्य जताततै बाडीचुडी खाने रणनीति देखिन्छ ।
विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सत्ताको लागि कुर्सी नछोडेको भनेर कुरा आलोचना गरेका तिनै दलका नेताहरु अहिले सत्ताको लागि लुछाचुडी गरिरहेका छन् । हेर्दा लाग्छ उनीहरु जनताको लागि होइन सत्ताको लागि मात्र राजनीति गरेजस्तो छर्लंग देखिएको छ ।
प्रदेशमा राजनीतिक भागबण्डा र आलोपालो गरेर सरकारको नेतृत्व गर्ने सहमति गर्दै सत्ता गठबन्धनका दलहरु व्यस्त छ । देशको विकास र जनताको जीवनस्तर उठाउने बारेमा सोच्ने उनीहरुलाई पटक्कै फुर्सद छैन ।