टोकियो । भाषा जापानी, पर्दा जापानी र कथा जापानीकै परिवेशमा छ। तर यही पर्दामा नेपाली चेली सुजिता पाण्डेको अभिनयले नेपाली पहिचानलाई पनि स्थान दिएको छ। जापानमा निर्माण भएको चलचित्र ‘22nd Century Cat’ टोकियोका सिनेमाघरमा प्रदर्शनमा आएसँगै नेपाली समुदायमा खुसी र उत्साह थपिएको छ ।
नेपाली कलाकारले जापानी चलचित्रमा अभिनय गर्नु आफैँमा एउटा महत्वपूर्ण उपलब्धि हो। यस चलचित्रमा सुजिता पाण्डेले करिब ८ देखि १० मिनेटसम्मको अभिनय भूमिका निर्वाह गरेकी छन्। चलचित्रको आधिकारिक पोस्टरमा समेत उनको नाम कलाकारहरूको सूचीमा समावेश गरिएको छ ।
८४ मिनेट लामो यस चलचित्रले पारिवारिक सम्बन्ध, जीवनका विविध भोगाइ, मानवीय संवेदना तथा वास्तविकता र कल्पनाबीचको सम्बन्धलाई कथामार्फत प्रस्तुत गरेको छ फरक भाषा, संस्कृति र चलचित्र निर्माणको परिवेशमा आफूलाई प्रस्तुत गर्दै जापानी फिल्ममा अभिनय गर्ने अवसर पाउनु सुजिताका लागि कलात्मक यात्राको महत्वपूर्ण उपलब्धि बनेको छ। जापानमा रहेर आफ्नो प्रतिभा र अभिनयमार्फत नेपाली उपस्थिति अन्तर्राष्ट्रिय चलचित्रको पर्दासम्म पुर्याउनु नेपाली समुदायका लागि पनि खुसीको विषय हो ।
विदेशी भूमिमा नेपाली प्रतिभाले आफ्नो कला प्रस्तुत गरिरहँदा यसले नयाँ पुस्ताका नेपाली कलाकारलाई समेत अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा अघि बढ्न प्रेरणा दिन सक्छ। ‘22nd Century Cat’ मा सुजिता पाण्डेको सहभागिता जापानी चलचित्र क्षेत्रमा नेपाली कलाकारको उपस्थितिको एउटा उदाहरण बनेको छ ।