टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले एसिया–प्रशान्त क्षेत्रअन्तर्गतका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। संघका गतिविधिको समीक्षा, आगामी कार्ययोजना तथा संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नोभेम्बर २८, २०२६ शनिबार भर्चुअल माध्यमबाट अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा हालसम्म विभिन्न एनसीसीले सञ्चालन गरेका गतिविधिको समीक्षा, आगामी कार्यक्रम तथा योजनाका विषयमा छलफल गरिनेछ। साथै, प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन, प्रथम एनआरएन विश्व दोस्रो पुस्ता सम्मेलन तथा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएन टोलीको सहभागिताका उद्देश्य, आवश्यकता र महत्त्वबारे पनि विचारविमर्श गरिनेछ।
त्यसैगरी, दशौँ एनआरएन अमेरिका क्षेत्रीय सम्मेलन र नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको उद्देश्य तथा औचित्यबारे छलफल हुनेछ। संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को वार्षिक साधारण सभाको आवश्यकता, उद्देश्य र महत्त्वका साथै संघको विधानसम्बन्धी सुझाव संकलनलाई समेत कार्यक्रममा प्राथमिकता दिइने जनाइएको छ।
कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सम्पूर्ण पदाधिकारी, सल्लाहकार, मानार्थ सदस्य तथा आईसीसी सदस्यहरू र एसिया–प्रशान्त क्षेत्रका सम्पूर्ण एनसीसीका पदाधिकारी एवं सदस्यहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ।
आयोजकले कार्यक्रमलाई संघको संस्थागत सुदृढीकरण, आपसी समन्वय, भावी रणनीति निर्माण र नीतिगत सुधारका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ। सहभागीहरूको सुझाव, अनुभव र सक्रिय सहभागिताले संघका आगामी योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।