काठमाडौँ- प्रतिनिधिसभामा पराजित भएका मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री नियुक्ति दिइएको भन्दै खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन पेस भएको छ।
प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका यादवलाई संविधानको मर्म र भावनाविपरीत मन्त्री बनाइएको नियुक्तिको खारेजी माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन पेस गरेका हुन्।
उक्त रिट रुजु भइसकेको भए पनि आजमात्रै दर्ता हुने सर्वोच्च प्रशासनले जनाएको छ।जनता समाजवादी पार्टीले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त गरेकी थिइन्।
संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने उल्लेख छ।
यादव तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधि सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ मा पराजित उम्मेदवार हुन्। प्रतिनिधिसभामा पराजित भए पनि यादव पछि राष्ट्रिय सभा सदस्यमा भने निर्वाचित भएका थिए।