काठमाडौं- बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो मतान्तरले विजयी भएका छन्। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर वुटवलमा कांग्रेसको २५ वर्षपछि पुनरागमन भएको हो।
पाण्डेले नेकपा एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गरेका हुन्। पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन्। पाण्डेय २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए।
कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो। बुटवलमा २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो।
उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन्। एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई ७ हजार ९२२ मतले पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन्। अर्यालले २४ हजार ९०४ मत पाएर निर्वाचित हुँदा गुरुङले १६ हजार ९८० मत पाएका छन्।
बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ। यसैगरी एमालेले वडा नं १०, १४, १८ र १९ जितेको छ। नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन्।