१२ साउन अर्थात् कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन हुने दिन आउन अब तीन दिनमात्रै बाँकी छ । यतिबेलासम्म त देशभरका ६७४३ वडामा अधिवेशनको तयारी भइसक्नुपर्ने हो । तर, अन्य तयारीको कुरा छाडौँ, ती वडामा कति मतदाता छन् ? भन्ने समेत टुंगो लागेको छैन । वडा तहको अधिवेशन १२ साउनमै हुन्छ ? कि सर्छ ? कांग्रेसले यतिवेलासम्म पनि यो प्रश्नको जवाफ दिएको छैन । देशभरिका नेता कार्यकर्ता अन्योलमा छन् । तर, नेताहरुले भने ‘तोकिएकै समयमा महाधिवेशन हुन्छ’ भन्ने रटान लगाउन छाडेका छैनन् ।
कार्यतालिकाअनुसार वडा तहको अधिवेशनको तयारीको समय गुज्रिदै गर्दा सभापति शेरबहादुर देउवाले शुक्रबार विहान बुढानिलकण्ठस्थित निवासमा शीर्ष नेताहरुको बैठक बोलाएका थिए । बैठकमा देउवाले त्यही दोहो-याए । ‘कार्यतालिका जता-जता मिलाउनुहुन्छ, मिलाउनुस् । तर, भदौ १६-१९ को केन्द्रीय महाधिवेशन गर्ने मिति यता-उता हुन सक्दैन । तल्ला तहको कार्यतालिका हेरफेर गर्नुस् । तर, केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुन्छ,’ देउवाले भनेका थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बैठकमा त्यही कुरा राखेको बताए । ‘केन्द्रीय महाधिवेशनको मिति यता-उता हुन सक्दैन । यदि भयो भने पार्टीको दर्ता नै खारेज हुने अवस्थामा हामी पुग्छौँ । हामी यत्रो ठूलो गौरवशाली पार्टीको दर्ता नै खारेज हुने जोखिम मोल्न तयार छैनौँ । त्यसको लागि बरु केन्द्रीय समिति र प्रदेश समितिको मात्रै भएपनि निर्वाचन गरौँ,’ पौडेलले भनेका छन् ।
बैठकपछि केन्द्रीय सदस्य गुरुराज घिमिरको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ कार्यक्रममा सार्वजनिक रुपमै नेता पौडेलले प्रदेश र केन्द्रीय कार्यसमितिको मात्रै निर्वाचन गरेर भएपनि पार्टीको अस्तित्व बचाउन सकिने प्रस्ताव गरे । ‘क्रियाशील सदस्यताको काम सकिनुप-यो । त्यसकालागि महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि चुनिनुप¥यो । यति गरेर प्रदेश र केन्द्रको निर्वाचन गरेपछि पार्टीको बैधानिकता बचाउन सकिन्छ । जसरी हुन्छ, पार्टीको वैधानिकता जोगाउनकालागि हामी सबै कटिबद्ध भएर पार्टीको महाधिवेशन गर्नुपर्छ,’ पौडेलले भनेका छन् ।
तर, नेता कृष्णप्रसाद सिटौलाले भने पार्टीमा यथार्थ भन्न डराउने अवस्थाका कारण कार्यकर्तामा अन्योलता छाएको बताए । ‘आजको बैठकमा सभापतिजी र रामचन्द्रजी दुवैले भदौमै जसरी पनि महाधिवेशन हुन्छ भन्नुभयो । अब पहिले तोकेको मितिमा महाधिवेशन हुदैन भनेर सबैलाई थाहा छ । तर, कोही पनि हुदैन भन्न तयार छैन,’ घिमिरेको कविता संग्रह विमोचनमा पौडेलभन्दा अघि बोलेका सिटौलाले भनेका थिए, ‘१२ गते अधिवेशन हुदैन भन्ने थाहा छ । तर, औपचारिक रुपमा त मैले पनि भन्नुहुन्नँ । किन भने त्यस्तो निर्णय भएको छैन । यथार्थ त हुन्नँ भन्ने नै हो । तर, यथार्थ भन्न डराउने कांग्रेस भइएको छ ।’
देउवाले यसअघि आफुनिकट नेताहरुसँग भनेका छन्, ‘म पार्टीको सभापतिमा हार्न तयार छु, तर महाधिवेशन नगरेको आरोप खेप्न चाहान्नँ । महाधिवेशन भदौमै गरौँ । तोकिएको समयमै गरौँ ।’ त्यसो त ४ असारमा बसेको केन्द्रीय समितिको बैठकमा पनि देउवाले महाधिवेशन गर्नैपर्ने अवस्था रहेको भन्दै त्यसको विकल्पबारे बैठकमा कसैलाई नबोल्न रुलिङ गरेका थिए । त्यो बैठक लगत्तै देउवा आफैँले महाधिवेशनको विषयमा छलफल थाले । एक सातासम्म आफुनिकट प्रदेश र जिल्लाका नेताहरुसँग छुट्टा-छुट्टै छलफल गरे, र आफुले पुनः सभापतिमा उम्मेदवारी दिने तयारी गरेको प्रस्ताव गरे । देउवाकै उम्मेदवारी घोषणाले बन्योे कांग्रेसको महाधिवेशनको माहोल ।
तर, अन्तिम अवस्थामा आएर क्रियाशील सदस्यताको विवाद र निर्वाचन समितिको तयारी नपुग्दा वडा तहको अधिवेशन मात्रै होइन, भदौमा केन्द्रीय महाधिवेशन नै गर्न नसकिने परिस्थिति सिर्जना भइरहेको छ । पार्टीको महाधिवेशनको तयारीमा केन्द्रीय हुनुपर्ने देउवा सरकारको नेतृत्वमा पुगेका छन् । देउवाले निरन्तर महाधिवेशनको तयारीलाई पनि जोड दिएका छन् । तर, तयारीका कामले भने त्यहीअनुसार गति लिन सकेको छैन ।
अब महाधिवेशनको मिति जसले सार्न प्रस्ताव गर्छ, ऊ पार्टीभित्र अलोकप्रिय हुने अवस्था बनेको छ । अलोकप्रिय भइएला कि भनेर नेताहरु मुख फोरेर महाधिवेशन सारौँ भन्न सक्ने अवस्थामा देखिदैनन् । देउवा पौडेल आफैँले त्यस्तो प्रस्ताव गरुन् भन्ने चाहान्छन् । पौडेल देउवाले त्यस्तो प्रस्ताव पुनः देउवाले नै महाधिवेशन गर्न चाहेनन् भन्ने आरोप लगाइरहन पाऊ भन्ने चाहान्छन् ।
कांग्रेसभित्रै महाधिवेशनको विकल्पबारे चर्चा र छलफलै नभएको भने होइन । महाधिवेशन गर्न नसकिएको अवस्थामा पार्टीको वैधानिकता नै संकटमा नपर्ने नेताहरुको दाबी छ । ‘केही विकल्पहरु अझै बाँकी छन्, सकेसम्म महाधिवेशन गरौँ भन्नेनै हो । तर, अन्तिमसम्म प्रयास गर्दा पनि महाधिवेशन गर्न सकिएन भने सार्नुको विकल्प छैन, अहिले परिस्थिति त्यस्तै बन्दैछ,’ शुक्रबारको बैठकपछि देउवानिकट एक नेताले भने ।
उनले अब तीन दिन पछि वडा तहको अधिवेशन गर्न सम्भव नहुने, र त्यसैको प्रभावले केन्द्रीय महाधिवेशन पनि प्रभावित हुने बताए । ‘वडाको अधिवेशन सार्दा त्यसको प्रत्यक्ष प्रभाव केन्द्रीय महाधिवेशनको मितिमा पर्छ । अब केन्द्रीय महाधिवेशनको मिति आउन ३७ दिनमात्रै बाँकी छ, त्यसैले भदौमा महाधिवेशन हुने सम्भावना कमजोर बन्दै,’ ती नेताले भने ।
शुक्रबारको बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखक र निर्वाचन समितिका संयोजक महादेव यादवले महाधिवेशनको तयारीका सन्दर्भमा समितिहरुले गरेका कामको प्रगतिबारे जानकारी गराएका थिए । त्यसबारे छलफलकै क्रममा प्रतिनिधिसभाको बैठक र त्यसको तयारीका कारण भन्दै देउवाले बैठक स्थगित गरे । त्यही बैठक शनिबार पुनः बस्दैछ ।
बैठकमा केन्द्रीय क्रियाशील छानविन समितिका संयोजक रमेश लेखकले आइतबारसम्ममा छानविन समितिले क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन सभापतिलाई बुझाउने बताएका थिए । ‘हामीले काम गरिरहेका छौँ । तर, अझै केही काम बाँकी छन् । आइतबारसम्म प्रतिवेदन बुझायौँ भने त्यो हाम्रो सफलता हो,’ लेखकले भनेका थिए ।
लेखक नेतृत्वको छानविन समितिले १० साउनमा प्रतिवेदन बुझाएपनि क्रियाशीलको अन्तिम नामावली तयार हुन अझै समय लाग्छ । किनकि छानविन समितिले गरेका कामप्रति असन्तुष्टि जनाउँदै सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना र अनशन बस्नेको संख्या दिनहुँ थपिँदो छ । समितिले सर्वसम्मत निर्णय गरेका बाहेकका स्थानको क्रियाशील सदस्यताका विषयमा पदाधिकारी र पूर्वपदाधिकारी बैठकले छलफल गरेर टुंगो लगाउनुपर्ने कार्यकर्ताको दबाब छ । त्यहीकारण थप केही दिन अलमल हुने निश्चित छ ।
त्यसपछि सभापतिले सबै क्रियाशील सदस्यताको नामावली अर्थात् मतदाता नामावली भएका कागजातमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । नामावलीमा हस्ताक्षर भइसकेपछि मात्रै त्यो नामावली निर्वाचन समितिलाई हस्तान्तरण गर्नुपर्छ । तबमात्रै निर्वाचन समितिले महाधिवेशनको कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया अघि बढाउँछ । त्यसैले मतदाता नामावली हस्तान्तरणमा जति ढिला हुन्छ, निर्वाचनको प्रक्रिया अघि बढाउनपनि त्यति नै ढिलाई हुने देखिन्छ ।
निर्वाचन समितिले माग्यो ५३ दिन
निर्वाचन समितिले महाधिवेशनका लागि ५३ दिन समय मागेको छ । समितिले मतदाताको अन्तिम नामावली प्राप्त भएको कम्तिमा एक महिनापछि मात्रै वडा अधिवेशन गराउन सक्ने भन्दै त्यहीअनुसारको समय माग गरेको हो । समितिका संयोजक महादेव यादवले पार्टीको महाधिवेशन पूरा गर्र्न मतदाताको अन्तिम नामावली प्राप्त भएको मितिले ५३ दिने कार्यतालिका प्रस्तावस्वरुप पेश गरेका छन् ।
‘क्रियाशील सदस्यता हामीलाई हस्तान्तरण भएपछि मात्रै हामीले निर्वाचनको कार्यक्रम अघि बढाउँछौँ । कतिपय तयारी भइसकेको छ । कतिपय काम नामावली आएपछि मात्रै हुन्छ,’ समितिका संयोजक यादवले भनेका थिए । समितिका अनुसार वडादेखि जिल्ला तहसम्मको अधिवेशनका लागि ३८ दिन समय माग गरिएको छ । ‘देशभर ६७४३ वडाहरु छन् । त्यहाँसम्म हामीले प्रतिनिधि पठाउनुपर्छ । मतदाता नामावली पु¥याएर निर्वाचन कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्यसका लागि समय लाग्ने हो,’ समितिका एक सदस्यले भने ।
निर्वाचन समितिले गरेको प्रस्तावअनुसार १५ साउनमा सभापति देउवाले निर्वाचन समितिलाई मतदाताको अन्तिम नामावली हस्तान्तरण गरे पनि त्यसको एक महिनापछि अर्थात् १५ भदौपछि मात्रै वडा तहको अधिवेशन सम्भव छ । तर, त्यति चाँडै क्रियाशील सदस्यताको विवाद समाधान हुने सम्भावना एकदमै कम छ ।
कांग्रेसले यसअघि निर्धारण गरेको कार्यतालिकामा १४औँ महाधिवेशनअन्तर्गत १२ साउनमा वडा तहको अधिवेशन गर्ने उल्लेख छ । त्यसपछि १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेश सभा क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा क्षेत्र एवं एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ । त्यस्तै, २६ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ भने १ र २ भदौमा सात प्रदेशको अधिवेशन र १६ देखि १९ भदौमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।