×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

जनकपुरलाई हराउँदै सुदूरपश्चिम प्लेअफ पुग्ने पहिलो टोली, साविक विजेता बाहिरिने संघारमा

जनकपुरलाई हराउँदै सुदूरपश्चिम प्लेअफ पुग्ने पहिलो टोली, साविक विजेता बाहिरिने संघारमा

काठमाडौं - सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। शनिबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिमले लिग चरणका दुई खेल बाँकी छँदै शीर्ष चारमा आफ्नो स्थान पक्का गरेको हो।

यो सुदूरपश्चिमको पाँचौं जित हो भने साविक विजेता जनकपुरको लगातार चौथो हार हो।

इशान र विनोदको निर्णायक साझेदारी
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा १ रनमै २ विकेट गुमाएर दबाबमा आएको सुदूरपश्चिमलाई इशान पाण्डे र विनोद भण्डारीले उद्धार गरे। यी दुईबीच ९२ रनको बलियो साझेदारी भयो। इशानले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए। त्यस्तै, विनोद भण्डारीले ४९ बलमा ४२ रन जोडे। अन्त्यमा हर्मित सिंहले १० बलमा अविजित २५ रन बनाउँदै टोलीलाई सहज जित दिलाए।

बलिङतर्फ जनकपुरका माज सदाकतले २ विकेट लिए।

लगातारको हारपछि साविक विजेता जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिने खतरामा पुगेको छ। अंकगणितीय रूपमा झिनो सम्भावना बाँकी रहे पनि प्लेअफमा पुग्न जनकपुरले अब आफ्ना बाँकी ३ खेल जित्नैपर्ने दबाब छ भने अन्य टोलीको नतिजा पनि आफू अनुकूल आउनुपर्ने कठिन समीकरण बनेको छ।

यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले भने जान लफ्टी इटनले ३९ रन बनाए। ३५ रनमा ३ विकेट गुमाएको अवस्थामा यी दुईले इनिङ्स सम्हालेका थिए।

सुदूरपश्चिमको बलिङमा अविनाश बोहराले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए भने स्कट कुगेलेइनले ३ र कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे।

प्रतिकृया दिनुहोस्