गृष्मा पौड्याल । कुनै समयको कुरो हो, मिनभवन क्याम्पस आइ. कम. फर्स्ट इयरमा पढ्दा म र इन्दिरा मिल्ने साथी थियौं । उनको र मेरो भेट SLC दिएपछिको सर्ट-टर्म कोर्स सिक्न जाने क्रममा घरेलुमा भएको थियो । उनले मलाई “तिमी SLC पास भयौ भने कहाँ पढ्ने”? भनेर सोधिन् , मैले भने “ मेरो घर नजिक मिन भवन क्याम्पस छ म त त्यहिं पढ्ने” मेरो बुवाले मलाई अन्त टाढा पढ्न पठाउनु हुन्न”। इन्दिराले “ए उसोभए, म पनि त्यहिं पढ्छु” एउटै क्याम्पस पढौं है” भनिन् । आज भन्दा झण्डै ४० वर्ष जति अगाडिको कुरा हो। त्यो बेलादेखि आजसम्म हाम्रो साथीत्व जस्तोको त्यस्तै छ अझ भन्नु पर्दा उनि मेरो अहिलेसम्मको बेस्ट फ्रेन्ड हुन् ।
हुन त रस्मिरा र पुष्पा पनि मेरो बेस्ट फेन्न्ड नै हुन र हामी तीनैजना रस्मिरा पुष्पा र मेरो पनि एउटा मात्र बच्चा छन्। हामीले बच्चालाई भन्दा बढी फोकस क्यारियरलाईं दियौं। रस्मिरा डि-लाइट स्कुलको प्रिन्शिपल, पुष्पा NMB बैंकको मेनेजर र म जापानको युविभर्सिटीमा पढाउने लेक्चरर। इन्दिरा चाहिं एकदम सिम्पल र भलाद्मी मान्छे।
भर्खरभर्खर कलेज शुरु भएको थियो। कलेज कहिलेकहीं १२ बजे या १ बजेसम्म मात्र चल्थ्यो। नेपालको शिक्षा नीति उहि त हो नि कहिलेकहीं सर र म्याडमहरू पढाउन नआउने कहिले राजनीतिको प्रभाव, कहिले हडताल, १६ १७ वर्षका उरनठेउला केटाकेटीहरूलाई भडकाएर गुण्डागर्दी गर्न लगाउने नेताहरू । कहिले प्रिन्सिपललाई धम्की दिने, कहिले पाले दाइलाई पिटिदिने, विध्यार्थीको यस्तै यस्तै हरकले दुई वर्षे कोर्सलाई तीन वर्ष लगाइ दिने, आदि इत्यादि।
खैर छोडौं , कलेजबाट घरमा आएपछि आधा दिन के गरेर समय बिताउने ? घरको काम त हामी फुर्केको छोरीहरूले गर्ने थिएनौं क्यारे !
कहिलेकहीँ बुवाले आमालाई “कत्ति आफैं मात्र घोटिन्छेस्, कुनै कुनै काम त छोरीहरूलाई पनि लगा न” भन्दा, आमाले भनेको याद छ !
“पर्दैन, मेरो छोरीहरूको भाग्यले पाएका सुतिसुति खाउन् , सबै काम म आफैं गर्छु” ।
उ समय आमाको माया मात्र देखियो तर अहिले खानामा कति पानी राख्ने? कसरी पकाउने र पानी थपेको भुजा मीठो हुँदैन भनेर चाहिँ बल्ल चाल पाउँदै छु । आमाको माया अपरम्पार !
कुरा अन्तै तिर मोडिन खोज्यो कि क्या हो?
फेरि कुरा गरौं साथी इन्दिरा मानन्धरको । उनको घर न्यूरोडमा थियो, अहिले के हो डिपार्टमेन्टल स्टोर भएको ठाउँ खिचापोखरी। पहिलो पल्ट मेरी बहिनी र म साथी कहाँ जाँदाको सम्झना अझै ताजै छ। क्या रमाइला थिए ति दिनहरू । त्यो दिन पनि कलेज छिट्टै सकियो । घरमा आएर न्यूरोड डुल्न भनेर निस्कियौं । न्यूरोड पुग्नु अगाडि साथी इन्दिराको घर छिरेर जाने निर्णय भयो।
समय शायद दिउँसोको १२ जति बजेको हुनुपर्छ। काठमाण्डौंका नेवार साथीहरू प्राय: बिहानको खाना अलि ढिला खाने रहेछन् । हामी पर्यौ क्षत्री, बाहुन ! हामी त बिहानको खाना छिट्टै खान्थ्यौ । अझ बुवाको अफिस काठमाण्डौं मै भएको बेला त बिहान साढे आठ बजे खाना खाइ सक्थ्यौं । त्यसपछि कलेज हिंड्यो, तीन बजेसम्म पढ्यो अनि कहिले भक्तपूर शिलाको घर त कहिले पुष्पाको घर, लखर लखर । क्या फुर्सदिला थियौं हामी !
कलेज छिटो छुट्टी भयो भने, लुगा फेर्यो अनि साथीकोमा डुल्न हिंडिहाल्यो । त्यो भन्दा नि काम नपाए ट्रली बस त कति चढियो कति । सूर्य विनायक र त्रिपुरेश्वरको फन्को त कति मारियो कति , गनेर के साध्य ! कलेजका सिनीयर दाइहरूले कहिलेकहीं त विना कारण कलेज हडताल गर्थे।
त्यो दिन समय कटाउन हामीलाई साह्रै धौ धौ हुन्थ्यो। यो आइतबार पनि हामी खाना छिट्टै खाएर डुल्न हिंडेका थियौं न्यूरोड। १२ बजे तिर हामीलाई भोक पनि लागेको थिएन। तर साथी कहाँ पुग्ने बित्तिकै साथीले माथि गएर एक एक ठूलो स्टिलको ग्लासमा त्यो पनि भरीभरी जस्तै, एकदम मीठो हेर्दै खाउँ खाउँ लाग्ने दुध- चिया पकाएर लिएर आइन् । एक त ‘अघाएको बाहुनलाई घिउ तितो’ भने झैं पिउन मन लागेको भए पो पिउनु ! अर्को तिर नपिऊँ भने साथीको मन दुख्ने डर।
के बहाना बनाएर चिया नपिउने होला भनेर सोच्दै थिएँ म ! बहिनी भन्दा म अलि बाठी थिएँ रे ! त्यसैले सोच्ने जिम्मा मेरै भागमा पर्थ्यो। चिने जानेको र सम्पूर्ण नातेदारहरूले यहि भन्थे क्यारे, आफूलाई के थाह !
बहिनी र मैले चिया एक एक घुट्को पिएको मात्रै के थियौं , हामीलाई त चिया अलिअलि नुनिलो जस्तो पो लाग्यो । अब हामी मातिएको छोरीहरूलाई के रुच्थ्यो र त्यो नूनिलो चिया ! अनि मैले मनमा जुक्ति लगाएँ र भने “साथी हामीलाई पहिला पानी तिर्खा लागेको छ पानी खान देऊ न” अनिपछि चिया पिँउँला” ।
यसरी मैले साथीलाई पहिला पानी लिन माथि बुईन्गेलमा पठाएँ। साथी पानी लिन जाने बिक्तिकै मौका छोपि , हामीले त्यो चिया झ्यालबाट हुतहुती आधा भन्दा बढी फ्याकिदियौं । दायाँ बायाँ तल माथि केही नहेरी ।
हामीलाई चियाको स्वाद अनौठो र अलि तम्तमिदों जस्तो लाग्यो, अब के गर्ने त ! मीठो नलागेपछि कसरी पिउन सक्नु ? यसपछि दुई तीन मिनेटमा साथी पानीको गिलास हातमा लिएर बैठक कोठामा आइमात्र पुगेकी थिइन् , मैले बहाना बनाउँदै भने “कस्तो तिर्खा लागेको थियो साथी “ “हामीले त चिया घटाघट पिईदियौं” झूट बोलें मैले।
तर झूट बोलेको मात्र के थिएँ, साथीले हाँस्दै भनिन् अँ…… पियौ ! तिमीहरूले सबै चिया झ्यालबाट फ्याकेछौ , बुवाले तल पसलबाट सबै
देखिरहनु भएको रहेछ! “तिम्रो साथीहरूलाई त चिया मन परेन जस्तो छ” सबै झ्यालबाट तल फ्याले, झण्डै बाटोमा हिंड्ने मान्न्छेको टाउकोमा परेको, “के भयो रे “?
“चिया मन परेन रे उनिहरूलाई?” बुवाले भन्नु भयो रे ?
हामी रातो पिरो भयौं, झूट समातिएकोले ।अलिकति त लाज पनि लाग्यो। यसरी साथीको घरको झ्यालबाट चिया फ्यालेकोमा र त्यो दिनदेखि साथी इन्दिरा मानन्धरको घरमा चियामा अलिकति नून राख्ने चलन नै हटाए रे !
यसरी म र बहिनीले ‘साथीको घरको चियाको स्वादमा क्रान्ति नै ल्याइ दिएका थियौं त्यो दिन। नेपालमा चियामा नून पनि राख्दा रहेछन् हामीलाई थाहा नै थिएन।
“बरु मुखैले चिया मन परेन नखाने भनेको भए हुने रहेछ तर…….. । एकैछिन त कस्तो नरमाइलो पनि लाग्यो ! तर इन्दिरा मेरो मिल्ने साथी हुन् त्यसैले यस्तो चानचुने कुराले हाम्रो दोस्तीमा केही फरक परेन ।
मेरो स्कुल कलेज र युनिभर्सिटीको साथीहरू मध्य मलाई असाध्य माया गर्ने ज्ञानी र भलाद्मी छिन् इन्दिरा । हाम्रो सम्बन्ध अझै पनि उस्तै गाढा र सुमधुर छ। म अहिले पनि जापानबाट नेपाल गएपछि उनलाई प्रत्यक पल्ट भेट्छु। अब त साथीको छोरीको पनि विहा भैसक्यो र दुई वर्षकी नातिनी पनि छन्। तर हाम्रो दोस्ती अझै पनि उस्तै १५ १६ वर्षको बेलाको जस्तै छ। साथीको माइती र घर पट्टीको पनि धेरै नातेदारहरूसँग चीनजान छ। उनको श्रीमान बद्रि मानन्धर पनि मेरो दाइ जस्तै हुनुहुन्छ र नाम पनि एउटै । कहिलेकहीं मित दाइ भनेर पनि जिस्क्याँउछु मैले उहाँलाई ।
मेरो आमाले पनि इन्दिरालाई धेरै माया गर्नुहुन्थ्यो। त्यो दिन देखि साथीको घरमा चिया पकाउने स्टाइल नै परिवर्तन गराउने म । सानैदेखि अलि हक्कि स्वभावको थिएँ। मन नपरेको कुरा, मान्छे र विचारबाट तीन भित्ता पर भाग्थें ! मन परेको मान्छेलाई भने ज्यानै दिन पनि सक्छु ………. !
आफ्नो कुरामा अडिग रहन्छु र कसैसँग डराउँदिन मान्छेको आ-आफ्नो स्वभाव हुन्छ, मेरो स्वभाव यस्तै छ। नबिराउनु नडराउनु ! कलेज पढ्दाको सम्झनामा आजलाई यति नै ल। बाँकी पछि लेख्दै गरौंला, हजुरहरू पढ्दै गर्नु र प्रतिक्रिया लेख्दै गर्नु 🙏 क्रमश:
साहित्यकार तथा लेखक पाैडेल हाल जापानका बिभिन्न बिश्वबिध्यालयमा प्रधापककाे रूपमा कार्यरत हुनुहुन्छ ।