टोकियो । जापानको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट चयन हुने कुल ४६५ सिटको अन्तिम मतगणना परिणाम सार्वजनिक भएको छ। सत्तारूढ लिब्रल डेमोक्रेटिक पार्टी(एलडिपी) ले एक्लै ३१६ सिट जित्दै प्रतिनिधिसभाको दुई तिहाइभन्दा बढी अर्थात् ३१० सिटको संवैधानिक सीमा पार गरेको छ। यो परिणामसँगै युद्धपछिको जापानी राजनीतिमा एउटै दलले एक्लै दुई तिहाइ बहुमत ल्याएको पहिलो ऐतिहासिक घटना बनेको छ।
यो जितले एलडिपीलाई माथिल्लो सदन (सांसदसभा) बाट अस्वीकृत विधेयक पुनः पारित गर्ने तथा संविधान संशोधन प्रस्ताव अघि बढाउने संवैधानिक शक्ति प्रदान गरेको छ। आगामी दिनमा दलले थप सिट वृद्धि गर्ने सम्भावना समेत व्यक्त गरिएको छ।
सानाए ताकाईची नेतृत्वको सरकारका विषयमा प्रधानमन्त्री ताकाइचीले जापानी संचार माध्यमहरुसंगको अन्तर्वार्तामा जापान इनोभेसन पार्टी (इशिन) सँग सहकार्यको ढोका खुला रहेको संकेत दिँदै “इशिनलाई मन्त्रिपरिषद् जिम्मेवारी पनि सँगै वहन गर्न आग्रह गर्दै आएको र त्यो धारणा अहिले पनि यथावत् रहेको बताएकी छन् ।हालको मन्त्रीमण्डललाई ‘सशक्त टिम’ भन्दै तत्काल ठूलो फेरबदलको योजना नभएको तर इशिनबाट मन्त्री समावेश गर्ने विषय उठे विचार गर्न सकिने उल्लेख गरेकिछन् ।
यसैबीच, प्रमुख प्रतिपक्ष गठबन्धन सेन्ट्रिस्ट रिफर्म अलाईन्सले भने ठूलो धक्का व्यहोरेको छ। निर्वाचनअघि १७२ सिट रहेको गठबन्धन खुम्चिँदै ४९ सिटमा सीमित भएको छ, जसलाई नेतृत्वले गम्भीर पराजयका रूपमा स्वीकार गरेको छ। संयुक्त प्रतिनिधि योशिहिको नोदाले परिणामको नैतिक जिम्मेवारी आफ्नो काँधमा रहेको बताउँदै पदीय जिम्मेवारीबारे पार्टीभित्र छलफल गर्ने संकेत गरेका छन्।
कट्टर राष्ट्रवादी दलकोरुपमा प्रस्तुत हुँदै आएको साना दल सानसेइतोले भने उल्लेख्य प्रगति गर्दै १० सिट जितेको छ। दलका नेता सोहेइ कामियाले मुद्दाअनुसार सत्तापक्षलाई समर्थन वा विरोध गर्ने नीति कायम रहने बताएका छन्।
समग्रमा, यो निर्वाचन परिणामले जापानमा सत्तारूढ दलको शक्ति अत्यन्त सुदृढ बनाएको छ भने प्रतिपक्ष कमजोर बन्दा आगामी नीतिगत तथा संवैधानिक बहसहरूमा सरकारको प्रभाव झन् बलियो हुने विश्लेषण गरिएको छ।