काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको पीडामा साथ दिँदै सिटी एक्सप्रेस ग्रुपले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सिटी एक्सप्रेस जापानका प्रबन्ध निर्देशक महेश कुमार श्रेष्ठले प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि उक्त सहयोग प्रदान गरिएको जानकारी दिएका हुन्।
श्रेष्ठले बाढीमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। साथै, बाढीबाट प्रभावित परिवारहरू शीघ्र पुनर्स्थापित भई सामान्य जीवनमा फर्कन सकून् भन्ने कामनासमेत गरेका छन्।
विपद्को पीडामा परेका परिवारलाई राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले गरिएको सिटी एक्सप्रेस ग्रुपको यो सहयोग मानवीय सेवाको महत्वपूर्ण उदाहरण बनेको छ।