गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आज शुक्रबार विश्वासको मत लिँदै छन्।
मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनी विश्वासकाे मत लिन लागेका हुन्। उनी एक साता अघि मात्र मुख्यमन्त्री बनेका थिए।
शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।
एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ्गले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोख्रेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ।
गण्डकी प्रदेशसभामा हाल ५९ सांसद छन्।