काठमाडौँ- नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य यथावत् राख्ने भएको छ । भारतबाट केही मूल्य बढेर आएपनि समग्रमा निगम पाक्षिक ९९ करोड नाफामा रहेकाले हाललाई इन्धनको मूल्य यथावत् राख्ने नेपाल आयल निगमले जानकारी दिएको हो ।
आइतबार विज्ञप्ति जारी गर्दै निगमले भनेको छ- ‘भारतीय आयल कर्पोरेसनको बक्यौता नेपाल सरकारको ऋण व्यवस्थापन चुनौतीपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत् राखिएको छ ।’
भारतीय आयल कर्पोरेसन(आईओसी) ले निगमलाई आइतबार इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि मूल्य बढाएर पठाएको निगमले जनाएको छ ।
आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ ।