नेकपा एमालेको माधवकुमार नेपाल—झलनाथ खाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार (भोलि) का लागि बोलाएको बैठकमा नजाने निष्कर्ष निकालेको छ । नेता वेदुराम भुसालकाअनुसार ओलीले बोलाएको बैठक अवैध भएको भन्दै बिहीबार (आज) बसेको नेपाल-खनाल समूहले बैठकले अध्यक्ष ओलीले बोलाएको बैठकमा नजाने निष्कर्ष निकालेको हो । नेता भुसालले भने- ‘पार्टी अध्यक्षको आह्वान गर्नुभएको बैठक अवैध हो भन्ने हामीले निष्कर्ष निकालेका छौँ । त्यसो हुँदा बैठकमा जाने कुरै भएन ।’
यसअघि बुधबार (हिजो) बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि पुरानै केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । उक्त बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको थियो ।
पार्टी अध्यक्ष ओलीले भने पार्टी एकताको लागि जेठ १८ को बैठकनै ‘डेड्लाइन’ हुने बताएका छन् । विपक्षी एमालेले सर्वोच्च अदालतको फैसलाअघि अध्यक्ष ओलीसँग एकता गर्न नचाहेको बुझिएको छ । विपक्षी एमालेको बैठकमा अध्यक्ष ओली पक्षसँग वार्तामा रहेका नेताहरुले अहिलेसम्म भएका छलफलको बारेमा जानकारी गराएको र कुनै पनि सहमति नभएको बताएका थिए ।