काठमाडौँ - नेकपा एमालेको आजको तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरू हुना साथ नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन्। उनलाई आइतवारै बसेको स्थायी कमिटी बैठकमा आफ्ना कुरा राख्न भनिएको थियो। तर उनले त्यहाँ आफ्नो केही कुरा नरहेको बताएका थिए।
रावलले आफूले समय आएपछि बोल्ने भन्दै मौन बसेका थिए। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकमा पनि केही बेर बसेर उनी बाहिरिएका हुन्। एमालेमा सहमति अनुसार २ जेठ २०७५ को अवस्थामा पार्टीलाई क्रियाशील नगरिएको भन्दै एमाले उपाध्यक्ष नेता रावल असन्तुष्ट बनेका हुन् । केन्द्रीय कमिटीको बैठकमा नै नेताहरूले यस विषयमा असन्तुष्टि व्यक्त गरिसकेका छन् । ‘उहाँ अहिले मौन बस्ने र समय आएपछि बोल्ने भन्नेमा हुनुहुन्छ’ एक नेताले भने ।