×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

निउरे समाज जापानको मानवीय सहयोग : ताराखोलाका बाढीपहिरो प्रभावितलाई १ लाख ४० हजार येन

निउरे समाज जापानको मानवीय सहयोग : ताराखोलाका बाढीपहिरो प्रभावितलाई १ लाख ४० हजार येन

टोकियो । बाढीपहिरोबाट प्रभावित बागलुङको ताराखोला गाउँपालिकाका नागरिकहरूको पुनर्स्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि निउरे समाज जापानले १ लाख ४० हजार ९०३ जापानी येन सहयोग गरेको छ । ताराखोला गाउँपालिकाले गरेको सहयोगको अपिलप्रति ऐक्यबद्धता जनाउँदै निउरे बन्धुहरूबाट संकलित उक्त रकम ताराखोला समाज जापानको खातामा जम्मा गरिएको समाजले जनाएको छ।

संकलित रकममध्ये समाजका कोषाध्यक्ष दयाराम निउरेको खातामार्फत १ लाख ३० हजार ३५२ येन र संस्थापक अध्यक्ष तथा संरक्षक रुद्रमणि निउरेको खातामार्फत १० हजार ५५१ येन जम्मा गरिएको हो।  ताराखोला समाज जापानले गाउँपालिकासँग सहकार्य गर्दै प्रभावित नागरिकलाई राहत वितरण गरिरहेको सन्दर्भमा सहयोगलाई व्यवस्थित र प्रभावकारी बनाउन निउरे समाज जापानले छुट्टै राहत वितरण गर्नुभन्दा संस्थागत सहकार्यलाई प्राथमिकता दिएको जनाएको छ।

सहयोग रकम आर्थिक हिसाबले सानो देखिए पनि यसमा जन्मभूमिप्रतिको माया, विपत्तिमा परेका नागरिकप्रतिको आत्मीयता र साझा पीडाको भावना जोडिएको समाजले उल्लेख गरेको छ। भौगोलिक रूपमा टाढा रहे पनि जन्मभूमिमा परेको दुःखमा साथ दिनु आफ्नो साझा दायित्व भएको समाजको भनाइ छ।

समाजले मानवीय अभियानमा आर्थिक सहयोग गर्ने सम्पूर्ण निउरे बन्धुहरूप्रति आभार व्यक्त गर्दै राहत अभियानमा सहकार्यको अवसर प्रदान गरेको ताराखोला समाज जापानलाई धन्यवाद दिएको छ। साथै, विपत्तिबाट प्रभावित परिवारहरूको जीवनमा पुनः आशा र खुसी फर्कियोस् भन्ने कामना गर्दै आगामी दिनमा पनि जन्मभूमि र त्यहाँका नागरिकहरूको सुखदुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्