काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन आफू प्रधामन्त्री बन्न आवश्यक भएको बताएका छन् । उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरुको नेतृत्व देशलाई आवश्यक भएको बताए । कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको उनको भनाइ छ ।
संसदीय दलको नेता बन्ने विषयमा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्नेकुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए । उनले पार्टीका अन्य नेताहरुले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।
‘प्रधानमन्त्रीको दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्छ । हाम्रो संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको पार्टी हो नेपाली काँग्रेस । त्यसैले संसदीय दलभित्र नेता हुने चाहना फरक फरक नेताहरुले राख्ने, बीचमा छलफल हुने, बहस हुनेकुरालाई एकदमै स्वभाविक रुपमा लिनुपर्छ,’ थापाले भने, “मैले यसलाई स्वभाविक रुपमा लिएको छु ।’
महामन्त्री थापाले कुनै समय आफूले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंहलाई संसदीय दलको नेताको रुपमा खुलेर भोट हालेको भन्दै अहिलेको बेलामा युवा पुस्ताको नेतृत्व आवश्यक भएकाले अग्रज नेताहरुले आफूलाई सघाउनेमा विश्वस्त रहेको बताए ।
‘एउटा बिन्दुमा मैले रामचन्द्र पौडेललाई मत हालेँ । अर्को एउटा बिन्दुमा प्रकाशमान सिंहलाई खुला घोषणा गरेर संसदीय दलको नेतामा भोट हालेको हो । यो समय अब हाम्रो समय हो । तपाईँको आशिर्वाद साथ चाहिन्छ भन्दै गर्दा ती पुराना कुराहरुलाई पनि पक्कै स्मरण गर्नुहुनेछ,’ थापाले भने, ‘त्यो बेलामा उहाँहरुको नै आवश्यक्ता थियो । उहाँहरुको पक्षमा उभिएको हो । आज समयले यो बेलामा नेपाली कांग्रेसको तर्फबाट यो पुस्ताको प्रतिनिधिले देश हाँक्छु भनेर अघि बढ्नुपर्छ । यो पार्टीको लागि पनि आवश्यक छ ।’