चितवन- नारायणगढको क्षेत्रपुरमा रहेको महानगर फलफुल तथा तरकारी बजारमा पाँच वटा केरा पकाउने राईपनिङ च्याम्बरको निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवन ८५ प्रतिशत अनुदान र बजार विकास प्रर्वदन समितिको १५ प्रतिशत लगानीमा राइपनिङ च्याम्बरको निर्माण गरिएको हो ।
पाँच वटा राईपनिङ च्याम्बर निर्माण गर्न साढे ४५ लाख रुपैयाँ लागेको परियोजनाले जानकारी दिएको छ । यसमा परियोजनाको मात्रै ४० लाख रुपैयाँ परेको छ, भने बजार विकाश प्रवद्र्धन समितिको साढे ५ लाख रुपैयाँ हाराहारीमा लगानी छ । च्याम्बर निर्माणका लागि परियोजनाले तीन बर्षअघिदेखि नै बजेट विनियोजन गर्दै आएको थियो । तर, स्थापना हुन सकेको थिएन् । यस बर्ष बजार विकास प्रवद्र्धन समितिको सहयोगमा क्षेत्रपुरमा स्थापना गरिएको हो । आधुनिक प्रविधिबाट केरा पकाएर स्वस्थकर वस्तु उपभोक्ता माझ पु¥याउने उदेश्यले च्याम्बरको निर्माण गरिएको परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए । किसानको उत्पादित केराको क्षति न्यूनिकरण गर्ने समेत उनले बताए ।
‘केराको पोष्ट हार्भेट लाइफ (बाली उत्पादन उत्प्रान्त हुने क्षती न्यूनिकरण गर्ने) बृद्धिका साथै उपभोक्ताले स्वस्थ केरा खान पाउने अपेक्षा छ,’ उनले भने, ‘यसले केरा बिग्रनबाट जोगाउँछ । जसले किसान, उपभोक्ता र व्यवसायीलाई समेत फाईदा पुग्छ ।’
यो प्रविधिबाट १०देखि १५ दिनसम्म स्टोरेज गरेर राख्न सकिने उनले बताए । आवश्यक परेको खण्डमा २४ घण्टाभित्र केरा पकाउन सकिन्छ । तर, ३६ घण्टाभित्र पाकेको केरा टिकाऊ र स्वस्थकर हुने ढुंगानाको भनाई छ । एउटा राईपिनङ च्याम्बरमा पाँच टनसम्म राख्न सकिन्छ ।
यसअघि चितवनका किसानले क्यालसियम कार्वोड हालेर केरा पकाउने गरेका थिए । यसमा केमिकल हुने भएकाले क्यान्सर समेत हुने खतरा थियो । तर, चिस्यान प्रविधिबाट पकाउँदा केरा स्वस्थकर हुने महानगर बजार विकास प्रर्वद्धन समितिका प्रबन्धक थीरप्रसाद धिताल बताउँछन् । केरा कार्बोडबाट पकाउने परम्परा थियो । त्यो त्यति गुणस्तर मानिदैन । छिटो सड्ने र कालो समेत हुन्थ्यो, उनले भने, ‘यस प्रविधिबाट रंग पनि राम्रो हुन्छ । टिकाउ पनि उत्तिकै हुन्छ । खान राम्रो मनिन्छ ।’
महानगर फलफुल तथा तरकारी बजारमा दैनिक एक लाख कोषा खपत हुँदै आएको छ । त्यहाँका व्यवसायीहरुले बिजुलीको शुल्क तिरेर केरा राईपनिङ च्याम्बरमा राख्न सक्ने व्यवस्था गरिएको धितालले बताए । उनका अनुसार, बैशाख, जेठ, असार, साउनमा जिल्लामा बढी केरा उत्पादन हुँदै आएको छ । चितवनमा बार्षिक ४४ हजार ८४२ मेक्ट्रिक टन केरा उत्पादन हुँदै आएको छ । त्यसमध्ये ३१ हजार ३सय ९९ मेक्ट्रिक टन निर्यात हुने गरेको परियोजनाले जनाएको छ ।