काठमाडौं-साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौंथो तथा आफ्नो अन्तिम खेलमा नेपालले आज मंगलबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले आयोजक टोलीको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
नेपाल आज बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । नेपालले अघिल्ला तीन खेलमा दुई हार र एक जित निकालेको छ ।
नेपाल पहिलो खेलमा भारत र तेस्रो खेलमा रसियासँग पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।
नेपाल ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
बंगलादेशले भुटान र भारतलाई हराएको थियो । रसियासँग हार व्यहोरेको थियो ।
रसिया ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अंक विहीन भुटान पुछारमा रहेको छ ।
प्रतियोगिताको अन्तिम खेलमा मंगलबार नै रसिया र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।