एजेन्सी: जूनमा अस्पतालमा भर्ना भएका दिलीप कुमार सोमबार आइसियूबाट बाहिर ल्याइने भएको छ । उनको हेरचाह गरिरहेका एक डाक्टरले उनलाई सोमबार आइसियूबाट बाहिर ल्याउने बताएका छन् ।
त्यस्तै नसीरुद्दीन शाहलाई पनि आज अस्पतालबाट डिस्चार्ज गर्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । उनलाई निमोनिया भएसँगै अस्पताल भर्ना गरिएको थियो ।
दिलीप कुमारलाई फोक्सोमा पानी जमेको कारण ६ जुनमा पहिलो पटक अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई ११ जुनमा डिस्चार्ज गरियो । हृदय रोग विशेषज्ञ डा नितिन गोखलेका अनुसार बुधबार श्वासप्रश्वासमा समस्या देखिएसँगै अस्पताल भर्ना भएका थिए । हाल उनको अवस्था स्थिर रहेकाले डिस्चार्ज गरिने उपचाररत डाक्टरले बताएका छन् ।
नसीरुद्दीन शाह पनि निमोनियाका कारण अस्पतालमा छन् । उसको फोक्सोमा देखिएको समस्या कम नभएको कारण उनलाई आइतबार डिस्चार्ज गरिएको थिएन । तर आज भने उनी घर जान सक्ने सम्भावना अधिक रहेको छ । नसीरकी श्रीमती रत्न, छोरी हीबा, छोराहरू भिवान र इमाद उनको हेरचाहमा खटिएका छन् ।