×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

काठमाडौं- चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ ।  परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी) सहयोग गर्ने घोषणा गरेका हुन् ।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यी नेतृत्वको प्रतिनिधिमण्डलबीच चीनको चिङ्दाओमा बुधबार साँझ भेटवार्ता भएको थियो । दुई देशका प्रतिनिधिमण्डलबीच दर्जन बढी विषयमा सहमति भएको भेटवार्तापछि बेइजिङस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुई मन्त्रीले विगतमा उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता र समझदारीलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरू नेपालमा चीनको सहयोगमा सञ्चालित आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिन सहमत भएका छन् । त्यसमा चिनियाँ पक्षले नेपाली प्रतिनिधिमण्डललाई चीनले काठमाडौं चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरु गर्ने आश्वासन दिएको छ ।

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्रीले अनुदान सहयोगमा चीनले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने पनि घोषणा गरे । उनले सन् २०२२ को मार्चमा नेपाल भ्रमणका क्रममा भएको सहमतिअनुसार नेपाल–चीन क्रस बोर्डर प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनका लागि पनि सहयोग गर्ने आश्वासन दिए ।

नेपाली पक्षको आग्रहमा चिनियाँ पक्षले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्भाव्यता अध्ययन गर्न सकारात्मक रूपमा विचार गर्ने आश्वासन दिएको छ ।

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री नेपालको कृषि क्षेत्रमा सहयोग गर्न सहमत भएका छन् । उनी नेपालको उत्पादन क्षमता विकास गर्न चिनियाँ लगानीलाई प्रोत्साहन गर्न र नेपाली चिया तथा परम्परागत जडीबुटीको निर्यातमा सहयोग अभिवृद्धि गर्न पनि सहमत भएका छन् ।

दुवै मन्त्रीले सीमा नाकामा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतमा कोभिड–१९ को महामारी नियन्त्रण भएपछि रसुवा–केरुङ र तातोपानी–जाङ्मु बन्दरगाह दुईतर्फी व्यापारका लागि र हिल्सा–पुलाङ नाका एकतर्फी व्यापारका लागि खोल्ने सहमति भएको छ ।

दुई समकक्षीले नेपालका विभिन्न विपद् तथा प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई सहयोग गर्ने निर्णय गरेका छन् । स्टेट काउन्सिलर वाङ यीले नेपालको अनुरोधबमोजिम ३० लाख आरएमबी (पाँच करोड ६७ लाख रुपैयाँ बढी) बराबरको विपद् राहत सामग्री नेपाललाई उपलब्ध गराउने घोषणा गरे ।

चीनले नेपाललाई थप २० लाख आरएमबी (तीन करोड ७८ लाख रुपैयाँ बढी) मूल्यका मेडिकल सामग्री र रसद उपलब्ध गराउने छ । स्टेट काउन्सिलरले नेपाललाई आवश्यक पर्ने थप कोभिड–१९ खोप र कोभिड–१९ सम्बन्धी चिकित्सा सहयोग उपलब्ध गराउने पनि घोषणा गरे ।

परराष्ट्रमन्त्री खड्काले चीनल सरकारले स्वास्थ्य सामग्री, उपकरण र जीवन बचाउने कोभिड–१९ खोपमा गरेको उल्लेख्य सहयोगको प्रशंसा गर्दै स्वास्थ्य पूर्वाधार र सुविधाको सुदृढीकरणका साथै क्यान्सर उपचारमा नयाँ प्रविधि हस्तान्तरण गर्न थप सहयोग गर्न आग्रह गरे ।

स्टेट काउन्सिलरले निजामती सेवा अस्पताल (सिभिल हस्पिटल)मा ब्लड क्यान्सरको उपचारका लागि काइमेरिक एन्टिजेन रिसेप्टर टी सेल (सीएआर टी सेल) निर्माण प्रयोगशाला स्थापना गर्न र नेपाली स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिम उपलब्ध गराउन चीनले सहयोग गर्ने घोषणा गरे ।

चीनका विदेशमन्त्रीले आफ्नो अध्ययन पुनः सुरु गर्न चीन फर्कन चाहने बाँकी रहेका नेपाली विद्यार्थीहरूले स्वास्थ्य प्रोटोकल पूरा गर्दै भिसा प्रक्रिया अघि बढाउन सक्ने पनि घोषणा गरेका छन् ।

दुवै पक्षले नेपाल–चीन संयुक्त सीमा निरीक्षण समितिको विद्यमान संयन्त्रको कामका लागि आवश्यक तयारी गर्न द्विपक्षीय प्राविधिक समिति गठन गर्न सहमत भएका छन् ।

दुई मन्त्रीबीच नेपाल चीन सम्बन्ध र सहकार्यका सबै पक्षमा छलफल भएको थियो । व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति र जनता–जनताबीचको आदानप्रदान लगायत थुप्रै क्षेत्रमा थप सहकार्य गर्न दुवै पक्ष सहमत भएका छन् ।

भेटमा नेपालका परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने आश्वस्त पारे ।

यस्तै, चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन दोहोर्‍याए र नेपाल सरकारको प्राथमिकता अनुसार नेपालको विकास प्रयासमा सहयोग गर्ने आश्वासन दिए ।

दुवै परराष्ट्रमन्त्रीले विभिन्न क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा पारस्परिक हितका विषयमा निरन्तर सहयोग गर्ने विषयमा पनि विचार आदानप्रदान गरेका थिए । भेटवार्ता सौहार्दपूर्ण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय छलफलपछि स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. खड्का र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा भोजको आयोजना गरेका थिए ।

मन्त्री खड्का चिनियाँ समकक्षीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा गएका हुन् ।

प्रतिकृया दिनुहोस्