×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपा बैठकमा रवि समर्थक र इतरबीच चर्काचर्की, 'रवि विकल्प खोज्नेले पार्टी छोडून्' ज्वालाको चुनौती

रास्वपा बैठकमा रवि समर्थक र इतरबीच चर्काचर्की, 'रवि विकल्प खोज्नेले पार्टी छोडून्' ज्वालाको चुनौती

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी केन्द्रीय कमिटी बैठकमा सभापति रवि लामिछानेका समर्थक र इतर पक्षका सदस्यहरूबीच चर्काचर्की भएको छ। केन्द्रीय सदस्य ज्वाला संग्रौला र रमेश प्रसाईं लगायतका नेताहरूले सभापति लामिछानेको विरुद्धमा बोल्ने नेताहरूमाथि आक्रामक अभिव्यक्ति दिएका छन्।

मंगलबारको बैठकमा ज्वाला संग्रौलाले त एक कदम अघि बढ्दै रवि लामिछानेको विकल्प खोज्नेहरूलाई रास्वपा छाड्न चुनौती नै दिएकी छिन्। एक केन्द्रीय सदस्यका अनुसार रमेश प्रसाईं र ज्वाला संग्रौलाले अधिकांश समय रविकै बखानमा खर्चिएका थिए। उनीहरूलाई कसैले रोक्ने प्रयास समेत नगरेको ती सदस्यले बताइन्।

प्रसाईंले बैठकमा भनेका थिए, "रवि लामिछानेको सत्कर्मको ब्याजमा उभिएको पार्टी हो। रवि बिनाको रास्वपा कसैले पनि कल्पना नगर्दा हुन्छ।"

ती सदस्य थप्छिन्, "उहाँहरूले सभापतिज्यू (रवि) रास्वपाको आत्मा भएको दाबी गर्नुभयो। के–के बोल्नुभयो सीमा नै छैन। उहाँहरू बोल्दा पदाधिकारी र शीर्ष नेतृत्व नै मौन हुनुहुन्थ्यो। कसैले रोक्ने प्रयास गर्नुभएन। यो त अति नै भयो। अझै पनि ज्वाला संग्रौला र रमेश प्रसाईंको निर्देशनमा केन्द्रीय कमिटी चल्नुपर्ने? हामी कति पतनको स्थितिमा रहेछौं?"

अर्का निवर्तमान सांसद पनि रास्वपाको 'फेस' रवि लामिछाने भए पनि पार्टीलाई जीवन्त राख्न फरक मतको पनि सम्मान हुनुपर्ने बताउँछन्। रविको विरुद्धमा बोल्नै रोक लाग्ने स्थितिमा पनि शीर्ष नेतृत्व मौन बसेकोमा उनले आश्चर्य व्यक्त गरे।

उनी भन्छन्, "हामी सबै रवि लामिछानेकै कार्यकर्ता हौं। सांसद बन्नुमा, मन्त्री, उपप्रधानमन्त्री खानुमा पनि उहाँकै देन छ भन्नेमा कसैको फरक मत छैन। तर, पार्टीलाई जीवन्त राख्न छलफल त हुनुपर्‍यो नि। पार्टीमा ज्वाला र प्रसाईंहरू हाबी हुनु राम्रो संकेत होइन।"

एक सदस्यका अनुसार ज्वालाले फेसबुक ग्रुपमार्फत रविको विरोध गर्नेहरूलाई सिध्याउने अभियान नै चलाएकी छन्। 'रवि दाईमाथि थप प्रश्न उठाउनेहरूको हालत सुमनाको झैं बनाउनुपर्छ' भन्दै ग्रुपमा म्यासेज सर्कुलर गर्ने गरेको बताइन्छ।

उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलाई सदस्यहरूले 'अराजकहरूलाई सचेत गराउनुस्' भन्दा पनि उनीहरू मौन छन्। यसको कारण सुमनाको झैं विरुद्धमा क्याम्पेन चलाउने डर रहेको बुझिएको छ।

रविपक्षका नेताहरूको मत छ, "पार्टीमा रविको विरुद्धमा छलफल नै चलाउनु हुँदैन। रवि दाइ रहुन्जेलसम्म उहाँ नै निर्विकल्प हो। कसैले टाउको नउठाए हुन्छ।"

सुमनाविरुद्ध अभियान चलाउन ज्वालासहित निवर्तमान सांसद हरि ढकाल लागि परेको खुलिसकेको छ। सुमनाको बहिर्गमनपछि आफ्नो गल्ती स्वीकार्दै माफी मागेका ढकाल भने पछिल्लो समय मौन रहेको बताइन्छ।

रास्वपा केन्द्रीय कमिटी बैठक आज पनि जारी छ।

प्रतिकृया दिनुहोस्