काठमाडौ- नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएसँगै नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता सहकार्यको चर्चा शुरु भएको छ ।
राष्ट्रपतिको चुनावमासमेत एमालेले कांग्रेस बाहेकका दलहरुसँग भोट मागेको थियो । तर चुनावकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले भने कांग्रेस र एमाले एकठाउँमा नआउने कसम नखाएको बताएका छन् ।
ओलीको पछिल्लो अभिब्यक्तिले एमाले कांग्रेसबीच सहकार्य हुन सक्ने संकेत गरेको छ । नयाँ राष्ट्रपति चयन लगतै ८ दलीय गठबन्धनको भविष्य समाप्त हुने अड्कलबाजी हुन थालेको छ ।
राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएको माओवादी केन्द्रको ढुलमुले चरित्रबाट आजित एमाले र कांग्रेसले आगामी दिनमा सत्ता सहकार्य गर्ने संकेत गरिरहेका छन् ।
अझ राष्ट्रपति निर्वाचनको सम्मुखमा कित्ता परिवर्तन गरेको माओवादीसंग एमालेको बदलाभाव जाग्नु जायज नै हो ।
कांग्रेससँगको सहकार्य नै एमालेका लागि एकमात्र हतियार बाँकी रहेको छ । प्रचण्डलाई गलाउन र बदला लिन एमाले अध्यक्ष ओलीले पाँचै वर्ष कांग्रेसलाई प्रधानमन्त्री प्रस्ताव नगर्ला भन्न सकिन्न ।
यता, छैटौँ पटक प्रधानमन्त्री बन्ने आशामा रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई ओलीको उक्त प्रस्तावले गलाउने सम्भावना पनि उत्तिकै देखिन्छ ।
संसदको सवैभन्दा ठुलो दलको नेता भएकाले देउवालाई पनि प्रचण्डलाई प्रधानमन्त्री स्विकार गरेर बस्नु भन्दा सो बाटो नै उत्तम लाग्न सक्छ । तर, कांग्रेस नेताहरु भने समीकरण बदलिने कुरालाई नकारिरहेका छन् ।
तर, राजनीति सम्भावनाको खेल हो । एमाले संगको सहकार्य पक्का हुने हो भने, राष्ट्रपति आफ्नो बनिसकेको अवस्थामा पूर्ण कार्यकालको प्रधानमन्त्री पाए कांग्रेस पछि हट्ने त कुरै हुँदैन ।
संसदमा ३२ सिटसहित तेस्रो दलको हैसियतमा रहेको माओवादी कहिले एमाले त कहिले कांग्रेससंग धोकाको राजनीति गर्दै सरकारको नेतृत्व गरिरहेको छ ।
जुन कुरा संसदका २ ठुला दल कांग्रेस र एमालेलाई सहजै पाच्य नभएको कुरा तितो यथार्थ हो । राष्ट्रपतिमा माओवादीको साथ पाएको कांग्रेस पनि भित्रैबाट प्रचण्ड समक्ष त्यती खुसी हुन नसकिरहेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीको यो अभिव्यक्तिले समिकरण बदलिने सम्भावनालाई झनै मलजल गरिरहेको छ ।
उसोत, एमाले अध्यक्ष ओली जसरी पनि देशलाई मध्यावधि निर्वाचनतर्फ धकेल्ने मनसायमा देखिन्छन् । ओलीको उक्त चाहनालाई कांग्रेसले पनि नजिकबाट हेरिरहेको छ ।
त्यसमा पनि पछिल्लो समय ओलीलाई राजनीतिक रुपमा विश्वास गरिहाल्ने अवस्थामा अन्य दलका नेताहरु देखिदैनन् । त्यसैले पनि तत्कालै राजनीतिक कोर्ष परिवर्तन भएर एमाले–कांग्रेस सहकार्यको सम्भावना भने क्षीण देखिन्छ ।