टोकियो । जापानको राजधानी टोकियोमा एक नेपाली युवति पक्राउ परेकी छिन् । आफ्नै नवजात शिशुको शव लुकाएको आरोपमा २३ वर्षीया नेपाली छात्रालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा टोकियोको आराकावा क्षेत्रमा रहेको एक जापानी भाषा विद्यालयको होस्टेलमा बस्दै आएकी २३ वर्षीया नेपाली युवती रहेकी छिन् ।
प्रहरीका अनुसार उनले आफूले जन्म दिएको शिशुको मृत्यु भएपछि के गर्ने भन्ने थाहा नपाएर कोठाको दराज (दराजको भित्री भाग) मा लुकाएको स्वीकार गरेकी छिन् । मृत फेला परेकी शिशु छोरी रहेको र उनको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको प्रहरीले जानकारी दिएको छ।
क्योदो न्यूजमा प्रकाशित खबरअनुसार यो घटना अप्रिल ६ देखि ७ तारिखको बीचमा भएको अनुमान गरिएको छ, जहाँ शिशुको शवलाई तौलियामा बेरेर प्लास्टिकको झोलामा राखिएको अवस्थामा फेला पारिएको थियो। ति युवतीसंगै कोठामा बस्ने अर्की महिलाले उनलाई रक्ताम्मे अवस्थामा देखेपछि सोधपुछ गर्दा घटना सार्वजनिक भएको हो। त्यसलगत्तै उद्धारकर्मी र प्रहरीलाई खबर गरिएको थियो र प्रहरीले अप्रिल १० तारिखमा उनलाई हिरासतमा लिएको छ।
जापानमा विदेशी विद्यार्थीहरूले भोग्नुपर्ने मानसिक तनाव र यस्ता संवेदनशील अवस्थामा आवश्यक सहयोगको कमीका बारेमा यो घटनाले पुनः बहस सिर्जना गरेको छ। प्रहरीले शिशुको मृत्युको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान र स्वास्थ्य परीक्षण गरिरहेको छ ।