जापान । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाद्वारा आयोजित ‘प्रथम जापान लोक तारा २०२६’ अन्तर्गत उत्कृष्ट दश (लाइभ राउन्ड) प्रतियोगी बीच भएको प्रतिस्पर्धाबाट फाइनल चरणका लागि उत्कृष्ट पाँच प्रतिभा छनोट भएका छन् । प्रतिष्ठानले सार्वजनिक गरेको नतिजाअनुसार फाइनल चरणमा प्रवेश गर्ने प्रतियोगीहरूमा तनुजा शाही, किरण प्रभात, केशव शर्मा, पार्वती आचार्य र आरती परियार रहेका छन् । उत्कृष्ट दश प्रतिस्पर्धी मध्येबाट निर्णायकहरूको मूल्याङ्कनका आधारमा उनीहरू फाइनल चरणका लागि छनोट भएका हुन् ।
प्रतियोगिताका निर्णायक संयोजक रामकृष्ण बम मल्ल तथा निर्णायकहरू सूर्य खड्का र ज्योति लोहनी ले सुर–ताल, भाका, मौलिकता, भाव, प्रस्तुति, शब्द उच्चारण, भेषभूषा र अनुशासनका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट पाँच प्रतिभा छनोट गरिएको जानकारी दिएका छन् । प्रतियोगिताको फाइनल चरण आगामी जुन १४, २०२६ ९आइतबार० टोकियोस्थित मेगुरो कुमिन सेन्टर मा आयोजना हुने भएको छ। उक्त अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ लोक तथा दोहोरी गायक–सर्जक अम्बर बिरही गुरुङ को विशेष सांगीतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।
“हाम्रो अभियान, लोकसंस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगिताको विजेता फाइनल चरणबाट घोषणा गरिनेछ। प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार येन, द्वितीय हुनेलाई ५१ हजार येन, तृतीय हुनेलाई ३१ हजार येन तथा सान्त्वना पुरस्कारस्वरूप ११ हजार येन प्रदान गरिनेछ । प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुद्रराज पौडेल ले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कलाकार, दर्शक, सहयोगी संस्था तथा नेपाली समुदायप्रति आभार व्यक्त गर्दै फाइनल कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन आग्रह गरेका छन् ।