काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधपछि मङ्गलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा एमालेले संसद् अवरुद्ध गरेको हो।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक स्थगित गरे। सभामुख सापकोटाले बैठक अगाडि बढाउन पटकपटक अनुरोध गरे पनि एमाले सांसदले उठेर अवरोध गरेपछि मंगलबारको बैठक स्थगित भएको हो।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद् चल्न नदिने बताए।
सदनमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको मन्त्री र प्रधानमन्त्रीले जवाफ दिनेक्रम चलिरहेको छ। अर्को बैठक असार १ गते बुधबार बिहान ११ बजे बस्नेछ।