काठमाडाैँ- नेकपा (एकीकृत समाजवादी) ले आफूसँग काठमाडाैँ महानगरपालिकामा ३० हजारभन्दा बढी मतदाता रहेकाे दाबी गरेकाे छ । एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले दाबी गर्दै भने, ‘खासमा जनमत कति छ भनेरचाहिँ चुनावमै देखिने हाे । तर, म भन्छु हामीसँग काठमाडाैँ महानगरपालिकामा ३० देखि ३५ हजारसम्म मतदाता रहेका छन् ।’
२०७४ सालकाे निर्वाचनमा एमालेबाट मेयर बनेका विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत प्राप्त गरेका थिए । त्यसमध्ये ३० देखि ३५ हजार मत भने एकीकृत समाजवादीकाे रहेकाे नेता श्रेष्ठकाे दाबी छ । ‘विद्यासुन्दरजीले ल्याउनुभएकाे मतमध्ये आधा मत अहिलेकाे हाम्राे पार्टीसँग छ,’ नेता श्रेष्ठले भने, ‘काठमाडाैँमा हाम्राे साथमा राम्रै जनमत छ ।’
एकीकृत समाजवादी एमालेका तत्कालीन वरिष्ठ नेताद्वय माधवकुमार नेपाल-झलनाथ खनालले बनाएका पार्टी हाे । ०७७ भदाै ९ गते निर्वाचन आयाेगमा दर्ता भएकाे एकीकृत समाजवादी अहिलेकाे पाँचदलीय गठबन्धनमा छ । त्यत्तिबेला नेपाल-खनालले एमालेबाट २० प्रतिशत लिएर एकीकृत समाजवादी बनाएका थिए ।
अहिले काठमाडाैँ महानगरकाे उपमेयरकाे टिकट एकीकृत समाजवादीले नै पाएकाे छ । उसले उपप्रमुखकाे उम्मेदवार रामेश्वर श्रेष्ठलाई बनाएकाे छ । नेता श्रेष्ठले मेयरमा आफूहरूकाे समर्थन सिर्जना सिंहलाई रहने बताए । ‘गठबन्धनकाे तर्फबाट उम्मेदवार बन्नुभएकी कांग्रेस नेतृ सिर्जना सिंहजीलाई हाम्राे समर्थन रहनेछ,’ उनले भने, ‘हाम्राे सबै मतदाताहरूले उहाँलाई समर्थन गर्नेछन् ।’