काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सुरू भएको छ। महाअभियोग सिफारिस समितिको बैठक बिहान ११ बजेदेखि नै बस्ने भनेपनि निर्धारित समयभन्दा करिब डेढ घण्टापछि बयान सुरू गरिएको हो। राणा भने समयमै पुगेका थिए।
बयानका लागि आवश्यक मापदण्ड बनाउन थाल्दा समय लागेको बताइएको छ। साथै पत्रकारलाई छिर्न दिने/नदिने विषयमा सत्तारुढ र प्रतिपक्ष दलका सांसदबीच मतभेद भएको थियो। समिति सदस्य प्रमोद साहका अनुसार उनीमाथि लागेका आरोपसँग सम्बन्धित जम्मा ६४ वटा सवाल सोधिनेछ। तीमध्ये २१ वटा प्रश्न बार एशोशिएशनले बुझाएको विवरणबाट छ।
‘उहाँको लिखित र मौखिक दुबै बयान हुन्छ। बार एशोशिएशनले २१ वटा दिएको छ। हामीले तयार पारेको ४३ वटा छ। उहाँको जवाफ के आउँछ त्यसलाई अध्ययन गर्छौं’, साहले बताए।
यसअघि नेपाल बारले राणामाथिको महाअभियोग प्रस्तावलाई पुष्टि गर्न आरोपसँग सम्बन्धित कागजात समितिलाई पेश गरेको छ। बारको ३५ बुँदे विवरणमा विभिन्न मुद्दासँग सम्बन्धित फैसला, न्यायाधीशहरूको सरुवा बढुवा, मुद्दा प्रभावित पार्न गरिएका टेलिफोनलगायतका विषय समावेश छन्।
गत फागुन १ मा सत्तारुढ दलका सांसदले जबराविरुद्ध महाअभियोग संसदमा दर्ता गरेका थिए। महाअभियोगबारे अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय समितिको बैठकले भदौ १९ भित्र प्रतिवेदन बुझाउने कार्यतालिका पारित गरेको छ।
जसका लागि भदौ १२ सम्म प्रमाण जुटाउने र अध्ययन गर्ने समितिले निर्णय गरेको थियो। राणाविरुद्ध पूर्व न्यायाधीश फोरमले पनि चार वटा प्रमाण समितिमा पेश गरेको थियो।