×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कोमल वलीको अभिव्यक्ति विवादित, एमाले नेता न्यौपाने भन्छन्- अध्यक्षकै सिको गर्‍या होला

कोमल वलीको अभिव्यक्ति विवादित, एमाले नेता न्यौपाने भन्छन्- अध्यक्षकै सिको गर्‍या होला

राष्ट्रियसभा सदस्य कोमल वलीको अभिव्यक्ति विवादमा तानिएको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सांसद वलीले ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकको कविता सुनाएकी थिइन् ।

नेताहरूले बाँदर चरित्र देखाएको पृष्ठभूमि बताउँदै वलीले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह र विपक्षी गठबन्धनप्रति कटाक्ष गरेकी थिइन् । अहिले उनको यो अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ ।

एमालेका नेता मुकुन्द न्यौपाने वलीको अभिव्यक्तिबारे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताउँछन् ।

‘कोमल वली राष्ट्रियसभामा बोलिरहँदा एमाले पार्टीको प्रतिनिधित्व भइरहेको हुन्छ । किन यस्तो बोलिन् भन्ने जवाफ अध्यक्षले दिनुपर्छ,’ न्यौपाने भन्छन्‚ ‘संसदमा कस्तो मान्छे एमालेले पठाएको छ,’ भन्ने पनि वलीको अभिव्यक्तिबाट थाहा हुने न्यौपानेको भनाइ छ ।

नेपाली कांग्रेसका नेता बीपी कोइरालालाई सम्मान र प्रधानमन्त्री ओलीको बचाउ गर्दै वलीले लामै कविता वाचन गरेकी थिइन् । ‘एमालेको गुरु भनेको अहिले केपी ओली हो । शिष्यले सिकेको बोलिन् । यसको जवाफदेही कोमल वलीभन्दा धेरै प्रधानमन्त्री ओली हो,’ न्यौपानेले भने ।

मुकुन्द न्यौपाने ।

प्रधानमन्त्री ओलीले सहयोद्धाहरुलाई हेपेर बोलेको सुनेपछि कोमल वलीले पनि त्यस्तै सिको गरेको उनले दाबी गरे । ‘अस्ति मदन जयन्तीको कार्यक्रममा बोल्दै केपी ओलीले जस्ता शब्दहरु प्रयोग गरिरहनुभएको थियो, त्यो सुन्दा प्रधानमन्त्रीले बोल्दैछन् भन्ने लाग्थ्यो ?,’ न्यौपानेले भने, ‘कोमल वलीलाई पनि लाग्यो होला बोल्ने त यसरी रहेछ ।’

तर राष्ट्रियसभा अध्यक्षले भने राष्ट्रियसभाका गरिमा जोगाउन नसकेको उनले टिप्पणी गरे । ‘कोमल वली र राष्ट्रियसभाका अध्यक्षमा कति फरक रहेछ त ? कविता सुनेर रोक्नुपर्नेमा मुसुमुसु गरिरहेको र त्यो दृष्यले राष्ट्रियसभाकै गरिमाको खिल्ली उडाएको उनले बताए ।

यसैबिच, सांसद वलीले भने आफ्नो हिजाको कविताकसैप्रति लक्षित नभएको स्पष्टिकरण दिएकी छन् । फेसबुकमार्फत उनले आफ्ना धारणाहरू कसैप्रति लक्षित नभएर देश, समाज र जनताप्रति समर्पित भएको बताएकी छन् ।

‘मेरा कुनै धारणाहरू व्यक्ति लक्षित छैनन् । मेरो देश, समाज र जनताप्रति समर्पित छ । देश र जनताका लागि बोल्दा कसैका कलमहरू कसैलाई निरुत्साहित गर्न चल्नुपर्छ भन्ने छैन‚’ उनले भनेकी छन् ।


कोमल वली राष्ट्रियसभामा एमालेबाट निर्वाचित सांसद हुन् ।

प्रतिकृया दिनुहोस्