प्रचण्ड मिलेसम्म पार्टी एकता गर्ने र नमिलेकासँग मोर्चा बनाएर अघि बढ्ने तयारीमा छन् । नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमत पार्टीलाई समेटेर मोर्चा बनाउने उनको आन्तरिक तयारी छ ।
निर्वाचनको अन्तिम मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गरेपछि दलहरूले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुन्छ । त्यसपछि मात्रै सरकार गठनबारे छलफल हुनेछ ।
प्रचण्ड
अध्यक्ष, माओवादी केन्द्र
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीहरूले दलको नेता चुनेपछि मात्र सरकार गठनबारे औपचारिक छलफल हुने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गरेपछि दलहरूले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुन्छ । त्यसपछि मात्रै सरकार गठनबारे छलफल हुनेछ ।’
प्रचण्डको भनाइका पछाडि दुई विषय जोडिएका छन् ।
एक – सत्तारुढ गठबन्धनकै सरकार बनाउने गरी भएको सहमतिमा हस्ताक्षर गरेका प्रचण्डले काँग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा दोहोरिउन् भन्ने चाहेका छन् । कारण– चुनाव अगाडि नै देउवासँग उनले आलोपालो प्रधानमन्त्रीमा सहमति गरेको चर्चा छ । अर्कोतर्फ, वर्तमान सत्ता गठबन्धनको नेतृत्व स्वमं देउवाले गरेका हुन् ।
दुई– लगत्तै प्रधानमन्त्रीमा आफ्नो दाबी । सत्ता गठबन्धनमा पहिलो प्रधानमन्त्रीको विषय नटुंग्याएको, उनको सन्देश हो ।
उनी प्रधानमन्त्रीको तीव्र दौडमा रहेको स्वमं प्रचण्डको व्यवहारले पनि देखाउँछ ।
आमनिर्वाचनको मतपरिणाम प्राविधिक रूपमा सार्वजनिक हुन बाँकी छ । कानुनत निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेपछि नयाँ सरकार गठनको गृहकार्य अगाडि बढ्नेछ । तर, प्रधानमन्त्री बन्ने दौडमा रहेका प्रचण्डले औपचारिक रूपमा सरकार गठनको प्रक्रिया अगाडि नबढ्दै भेटघाट तीव्रता पारेका छन् । उनी साना र ठुला सबै दलसँग संवादमा छन् । चुनावमा विपक्षी गठबन्धनको नेतृत्व गरेको एमालेका नेताहरूसँग पनि संवादमा छन् । गत सोमबार खुमलटारस्थित आफ्नै निवासमा प्रचण्डले एमाले सचिव रघुवीर महासेठसँग भेटघाट गरे । त्यसअघि एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फोन गरेर प्रचण्डलाई बधाई दिँदै मिलेर अगाडि बढ्न सकिने भनी प्रस्ताव गरेका थिए । यस पृष्ठभूमिमा ओलीनिकट नेता महासेठले प्रचण्डसँग भेट गरेका हुन् ।
सोमबार नै सत्तारूढ गठबन्धनको बालुवाटारमा बैठक बसेको थियो । उक्त छलफलमा सत्तारूढ गठबन्धनकै पुनः सरकार बनाउने सहमति जुटेको छ । तर, गठबन्धन बैठकअघि प्रचण्डलाई एमाले सचिव महासेठ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसमेत छुट्टाछुट्टै भेट गरेका थिए ।
‘जसरी पनि प्रधानमन्त्री बन्ने’ दौडमा रहेका प्रचण्डले ‘भए सत्तारूढ गठबन्धनबाट नभए एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बन्ने’ चाहना राखेको कतिपय नेताहरू बताउँछन् ।
केही दिन अगाडि सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्डले त्यहाँ प्रधानमन्त्रीका लागि आन्तरिक छलफलमा आफैँ लागेको बताएका थिए । त्यस दिन उनले ‘सरकारको नेतृत्व गर्नका लागि आफैँ आन्तरिक तयारीमा जुटिसकेको’ जानकारी काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई गराइसकेको बताएका थिए ।
व्यवहारमा पनि प्रचण्डले सत्ता गठबन्धनको बैठक अगाडि र पछाडि पनि भेटघाट निरन्तर जारी राखेका छन् । १२ मङ्सिरमा डिल्लीबजार कारागार पुगेर प्रचण्डले जेलजीवन बिताइरहेका रेशम चौधरीलाई भेटे पुगे ।
प्रचण्डले भेटेर फर्किएको अर्को दिन १३ मङ्सिरमा चौधरीलाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पुगेका थिए ।
भेटमा बाबुराम र नेपालले नयाँ सरकार निर्माणमा साथ दिन चौधरीलाई आग्रह गरेका थिए ।
प्रतिनिधिसभामा कुनै पनि दलले बहुमत ल्याउन सकेनन् । सत्ता गठबन्धनमा आबद्ध पाँच दल गठबन्धन गरेर चुनावमा गए पनि सत्ता गठबन्धनको बहुमत आएन । सरकार बनाउन आवश्यक पर्ने बहुमत नआएपछि साना दललाई समेट्नु पर्ने बाध्यतामा सत्ता गठबन्धन छ ।
तर, प्रचण्ड भने सरकार बनाउनेभन्दा पनि मिल्न सक्ने साना दलहरूसँग पार्टी एकता गरेर माओवादीलाई बलियो शक्तिका रूपमा उभ्याउने रणनीतिमा रहेको उनीनिकट नेताहरू बताउँछन् । पार्टी एकता गर्न नसके मोर्चा बनाउने उनको प्रयत्न छ । सबैभन्दा पहिला नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीसँग मोर्चा बनाउने प्रचण्डको रणनीति छ ।
उनी निकट नेताहरूका अनुसार प्रचण्ड अहिले जसरी पनि प्रधानमन्त्री हुन चाहन्छन् । प्रधानमन्त्री बन्न चाहेका प्रचण्ड माओवादीले सोचेजस्तो सिट नजित्दा तनावमा छन् । प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू माओवादीबाहेक काँग्रेस र एमाले कसैको नेतृत्वमा पनि सरकार नबनोस् भन्ने चाहन्छन् । यदि काँग्रेस र एमाले मिलेर सरकार बनेन भने माओवादीबिना सरकार बन्न असम्भव छ । तथापि, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार जान सक्ने बताएपछि प्रचण्ड थप दबाबमा छन् । यस कारण पनि प्रचण्ड आफ्नो शक्ति बढाउने रणनीतिमा छन् । यही रणनीतिका कारण अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने भनेर चार दलले विज्ञप्ति जारी गरे पनि प्रचण्डको पहिला प्रधानमन्त्री बन्ने चाहना अनुसारको भेटघाट नरोकेका हुन् ।
शक्ति बढाउने रणनीतिमा रहेका प्रचण्ड मिलेसम्म पार्टी एकता गर्ने र नमिलेकासँग मोर्चा बनाएर अघि बढ्ने तयारीमा छन् । नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमत पार्टीलाई समेटेर मोर्चा बनाउने उनको आन्तरिक तयारी छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको गठबन्धनको औचित्य अन्त्य भएको घोषणा गरिसकेका छन् । यादव मनोनयन दर्ताको अघिल्लो दिन सत्ता गठबन्धनबाट बाहिरिएका थिए । सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गरेको जसपाले मधेस प्रदेशमा ठुलो धक्का ब्यहोरेको छ ।
एमालेसँग गठबन्धन गर्दा पनि चुनाव हारेका अध्यक्ष यादवले एमालेसँग गठबन्धनको औचित्य समाप्त भएको बताएकाले माओवादी केन्द्रसँग सहकार्य गर्न सक्ने आकलन कतिपयको छ । बलियो तेस्रो शक्ति निर्माण गर्ने रणनीतिमा जुटेका प्रचण्डलाई यादवले साथ दिने माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चालाई एकै ठाउँमा ल्याएर आफ्नै नेतृत्वमा मोर्चा बनाउन सके बार्गेनिङ पावर बढ्ने प्रचण्डको बुझाइ छ ।
प्रचण्ड स्वतन्त्रबाट जितेका प्रभु साह र किरणकुमार साहलाई पनि मोर्चामा समाहित गर्ने योजनामा छन् । माओवादी नेताहरू विभिन्न पार्टी र स्वतन्त्रबाट जितेका सहितको मोर्चा बनाउन सक्दा प्रचण्डसँग करिब ६५ सांसद हुने बताउँछन् ।
प्रत्यक्षमा १८ सिट जितेको माओवादीले समानुपतिकतर्फ १४ सिट पाएको छ । राष्ट्रिय पार्टी बन्न असफल नेकपा एकीकृत समाजवादीसँग १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् भने नागरिक उन्मुक्ति पार्टीसँग चार (स्वतन्त्र जितेका लालवीर चौधरीसहित) सांसद छन् । प्रत्यक्ष ७ सिट जितेको जसपाले समानुपातिकतर्फ ५ सिट पाएको छ भने प्रत्यक्ष एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ पाँच सिट पाएको छ । प्रत्यक्ष एक सिट जितेको राष्ट्रिय जनमोर्चा र रौतहटबाट निर्वाचित प्रभु साहसहित स्वतन्त्र २ सांसद पनि छन् ।
एमालेले पनि माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन कसरत गरिरहेको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फकाउन आफूनिकट नेताहरूलाई खटाएका छन् । चुनावको मतपरिणाम आएपछि एमाले उपाध्यक्ष द्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल तथा सचिव रघुवीर महासेठले प्रचण्डसँग भेटवार्ता गरेका थिए । तर, तत्कालै प्रचण्डले केही प्रतिक्रिया नदिए पनि माओवादीका नेताहरू भने एमालेसँग समेत संवादमा छन् ।