×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्वसभामुख महरा भेपमार्फत सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान

पूर्वसभामुख महरा भेपमार्फत सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान

काठमाडौं - काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

बुधबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई अहिले नै निर्दोष भन्न नमिल्ने भन्दै थुनामा राख्न आदेश दिएको हो।

अदालतको आदेशमा भनिएको छ, ‘यी प्रतिवादी अहिले नै आरोपित कसुरमा निर्दोष रहेको अवस्था नदेखिएको र कसुरदार देखिने आधार भएकोले, उनलाई लागेको अभियोग समेतबाट थप प्रमाणहरू बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाल महरालाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न थुनुवा पुर्जी दिई थुनामा राख्नु भनी स्थानीय कारागार कार्यालयमा पठाइदिने गरी यो थुनछेक आदेश गरी दिएको छ।’

महरालाई जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा पठाइएको छ।

अदालतले महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक अरुण पोखरेललाई फोन गरेको, बयान, महराका छोराले गरेको बयान, अरुण पोखरेलले गरेको कागज लगायतका आधारमा महरालाई अहिले नै कसुरदार होइन भन्न नमिल्ने उल्लेख गरेको छ।

उनलाई ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग गरिएको थियो।

महराविरुद्ध मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो। मंगलबार बयान लिन सकिएपनि थुनछेक बहस हुन सकेको थिएन।

२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले लगेजमा ठूलो संख्यामा भेप ल्याएका थिए। त्यसमा ९ किलो सुन थियो। त्यो सुन विमानस्थलकै भन्सारबाट चोरी भएपछि मात्र सुन तस्करीबारे खुलेको थियो।

सिआइबीले थालेको अनुसन्धानमा महराको सम्बन्ध तस्करीका मुख्य नाइके दाओजिन वाङसँग देखिएको थियो। सिआइबीले पहिलो चरणको अनुसन्धानमा उक्त सम्बन्धलाई आफ्नो चार्टमै प्रस्तुत गरेको भए पनि मुद्दा चलाइएन। पछि सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरालाई समेत मुद्दा चलाउनुपर्ने राय दिएको थियो।

सिआइबीले महरालाई २०८० चैत ५ गते कपिलवस्तुबाट पक्राउ गरेको थियो। त्यति बेला उनलाई मुद्दा चलाइएको थिएन। बयान लिएर हाजिर जमानीमा छाडिएको थियो।

गत आइतबार सिआइबीले महरालाई पुनः पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाएको हो।

प्रतिकृया दिनुहोस्