काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–२ कि प्रतिनिधिसभा उम्मेदवार ओनसरी घर्तीले जितेमा विकासे मन्त्रालयको मन्त्री बनाउने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वसभामुख घर्तीलाई भोट माग्दै यस्तो बताएक हुन् ।
कार्यक्रममा ओनसरीले आफू निर्वाचित भए जोरपाटी साँखु सडक बनाउने प्रतिवद्धता जनाएकी थिइन् । उक्त सडक बनाउन नसके २ वर्षमा राजीनामा दिने पनि बताएकी थिइन् ।
त्यसैगरी प्रचण्डले मतदातालाई एक अर्का पार्टीको चुनाव चिह्नमा मतदान गर्न अप्ठेरो नमान्न आग्रह गरे । उनले २०४६ सालको आन्दोलनदेखि नै कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गरेको भन्दै त्यतिबेलैदेखि हसिया हथौडा र रुख एउटैजस्तो भएको बताए ।
प्रचण्डले शान्ति सम्झौतामा नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र तत्कालिन विद्रोही माओवादीका तर्फबाट आफूले हस्ताक्षर गरेको सम्झिए ।
‘त्यो सम्झौता मैले रुखमा र गिरिजाबाबुले हसिया हथौडामा छाप लाए बरारबर हो’ प्रचण्डले भने ।