जापान । नेपाल पत्रकार महासंघ जापान शाखाले प्रवासमा सक्रिय नेपाली पत्रकारहरूको योगदानको कदर गर्न प्रवास पत्रकारिता पुरस्कार स्थापना गर्ने तथा १० लाख येनको पत्रकार कल्याण कोष सञ्चालनमा ल्याउने महत्वपूर्ण निर्णयहरू गरेको छ।
शाखाको हालै सम्पन्न नियमित दोश्रो बैठकले महासंघकाे १५औँ स्थापना दिवस आगामी मार्च १५ तारिखमा भव्य रूपमा मनाउने निर्णय पनि गरेको छ । स्थापना दिवस कार्यक्रमको तयारी र व्यवस्थापनका लागि सचिव अर्जुन लामिछानेको संयोजकत्वमा उपसमिति गठन गरेको छ।
उपसमिति सदस्यहरूमा दिनेश थापा, रामचन्द्र गिरी, दुर्गा आचार्य र भवानी भट्ट रहेका छन्। उपसमितिले कार्यक्रमको स्वरूप, व्यवस्थापन र समन्वयको जिम्मेवारी सम्हाल्ने छ।
बैठकले स्थापना दिवस कै अवसरमा प्रदान गरिने गरी ५० हजार रुपैयाँ राशीको ‘प्रवास पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ। प्रवासमा रहेर नेपाली पत्रकारितामा योगदान पुर्याउने पत्रकारलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरिएको महासंघले जनाएको छ।
पुरस्कारलाई पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न मापदण्ड तथा कार्यविधि तयार गर्ने जिम्मेवारी सहित तीन सदस्यीय समिति गठन गरिएको छ। समितिको संयोजकको जिम्मेवारी पत्रकार खगराज गौतमलाई दिइएको छ भने सदस्यमा दिनेश कुमार थपलिया र इन्दिरा खनाल रहेका छन्। समितिले चाँडै कार्यविधि तयार गरी कार्यसमितिमा पेस गर्ने जनाएको छ।
बैठकले प्रवासमा कार्यरत पत्रकारहरूको हित र कल्याणलाई ध्यानमा राख्दै १० लाख येनको पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय पनि गरेको छ। स्वास्थ्य उपचार, आकस्मिक समस्या, विपद् तथा आपतकालीन अवस्थाका बेला पत्रकारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त कोष स्थापना गरिएको महासंघले जनाएको छ।
कल्याण कोष सञ्चालन सम्बन्धी कार्यविधि महासंघ जापान शाखाका निवर्तमान अध्यक्ष शान्त पहरीको संयोजकत्वमा तयार पारिएको कार्यविधिलाई आवश्यक संशोधन सहित बैठकले पारित गरेको छ। साथै, कोषलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन कार्यसमिति सदस्य, साधारण सदस्य, जापानस्थित नेपाली संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आह्वान गरिएको छ।
बैठकले जापानमा रहेका नेपाली समुदायका समस्या, सरोकार र गतिविधि बारे विश्लेषणात्मक तथा तथ्यपरक लेखनलाई प्राथमिकता दिने निर्णय पनि गरेको छ। जापानस्थित पत्रकार तथा विभिन्न क्षेत्रका विज्ञहरूलाई लेख लेख्न आग्रह गर्ने र ती सामग्री महासंघको आधिकारिक फेसबुक पेज तथा वेबसाइट मार्फत प्रकाशन गरिने छ।
उक्त सामग्रीको सम्पादनका लागि उपाध्यक्ष मनिषा चम्लागाईको संयोजकत्वमा सम्पादन मण्डल गठन गरिएको छ। सम्पादन मण्डलका सदस्यमा फुर्वा शेर्पा र भुवन भण्डारी रहेका छन्।
यसका अतिरिक्त बैठकले महासंघको आधिकारिक फेसबुक पेज मार्फत जनचेतनामूलक सामग्री प्रकाशन गर्ने, महासंघका गतिविधि र सुधारका लागि गुगल फर्म मार्फत राय–सुझाव संकलन गर्ने तथा प्रवास पत्रकारिता सम्बन्धी ग्लोबल सम्मेलन आयोजना गर्न पहल अघि बढाउने निर्णय समेत गरेको छ।
महासंघ जापान शाखाले गरेका निर्णयहरूले प्रवासमा नेपाली पत्रकारिताको संस्थागत विकास, पत्रकारहरूको हक–हित संरक्षण तथा पेशागत मर्यादा सुदृढ गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।