टोकियो । लामो समयदेखि प्रतीक्षारत नेपाली जनसम्पर्क समिति जापानको अधिवेशन आगामी जुलाई ५ मा टोकियोमा आयोजना हुने भएको छ। नेपालमा नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भएपछि जापानस्थित जनसम्पर्क समितिको अधिवेशन हुन लागेको हो।
अधिवेशनको मिति तय भएसँगै संगठनभित्र उत्साह र राजनीतिक गतिविधि बढेको छ। अधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी विशेष प्रतिनिधिका रूपमा नेपालबाट जापान आइपुग्नुभएको छ । उहाँको उपस्थितिले अधिवेशनलाई थप महत्व र गरिमा प्रदान गर्ने अपेक्षा गरिएको छ।
जनसम्पर्क समिति जापानका उपसभापती राजेन्द्र जमरकट्टेल ले अधिवेशनको तयारी तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिँदै लोकतान्त्रिक मूल्य, संगठन सुदृढीकरण र आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा यसलाई हेरिएको बताउनुभयो। उहाँले जापानमा रहेका सम्पूर्ण नेपाली कांग्रेस समर्थक, शुभेच्छुक तथा लोकतन्त्रप्रेमी नेपालीहरूलाई अधिवेशनमा सहभागी भई ऐतिहासिक बनाउन आग्रह गर्नुभएको छ।
लामो अन्तरालपछि हुन लागेको यो अधिवेशनले जापानस्थित नेपाली कांग्रेसको संगठनात्मक संरचनालाई थप सुदृढ बनाउने, नयाँ नेतृत्व चयन गर्ने तथा प्रवासमा रहेका नेपालीहरूबीच राजनीतिक एकता र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।