काठमाडौ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत देशका थप ४ विभिन्न अस्पतालहरूलाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ ।
बैंकले भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र – प्युठान, महादेवपुरी स्वास्थ्य चौकी -बाँके, बर्दिया जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय- जाजरकोट गरी थप ४ ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ।
बैंकले यी विभिन्न अस्पतालहरूलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो।
अस्पतालहरूमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरूबाट भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र, महादेवपुरी स्वास्थ्य चौकी बाँके, बर्दिया जिल्ला अस्पताल र जाजरकोट स्वास्थ्य सेवा कार्यालयका पदाधिकारीहरू लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिमा सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
साथै सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरूलाई बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको थियो।
नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट स्वर्गद्वारी नगरपालिका भिंग्री, प्युठान स्थित प्राथमिक स्वास्थ्य केन्द्र, राप्ती सोनारी गाउँपालिका वडा नं.९ बाँके स्थित महादेवपुरी स्वास्थ्य चौकी, गुलरिया नगरपालिका वडा नं. ६ स्थित बर्दिया जिल्ला अस्पताल र भेरी नगरपालिका वडा न. ३ स्थित स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
बैंकले हाम्रो विकास प्रवर्द्धन कोष मार्फत “न्यानो नानी” परियोजना २ अन्तर्गत हालसालै लिपानिबिर्ता स्वास्थ्य चौकी-परवानीपुर, हेटौडा अस्पताल-हेटौडा, बेतिनी सामुदायिक स्वास्थ्य चौकी-फापर बारी, चन्द्रनिगाहपुर अस्पताल र इनरुवा अस्पताल सुनसरीलाई एक-एक थान बेबी वार्मर प्रदान गरी ५ वटा बेबी वार्मर प्रदान गरिसकेको जनाएको छ ।