काठमाडौं। रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाईकल दुर्घटना भई हराएका २ जनाको शव फेला परेको छ।
फेला परेको एउटा शव रोप रेस्क्यु विधीबाट निकाल्ने कार्य भईरहेको छ भने अर्को शव सोही खोलामा स्थानीयले देखेको भनी जानकारी प्राप्त भएको छ।
भाद्र १५ गते रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–६ ठाडे बस्ने २४ बर्षिय सुदिप घले र २३ बर्षिय दावा डेण्डुप तामाङ एएए–३८१७ नम्बरको मोटरसाईकलमा धुन्चेतर्फ गएकोमा हालसम्म सम्पर्कमा नआएपछि निजको आफन्तले खोजीकार्यको लागि भाद्र १७ गते विहान जिल्ला प्रहरी कार्यालय रसुवामा निवेदन दिएका थिए।
निवेदन प्राप्त भएपछि नेपालि सेना श्रीनाथ गण धुन्चेस्थित चेकप्वाईन्टमा जडान भएको सिसिटिभी फुटेजमा सोही दिनको राती करीब १० बजेको समयमा धुन्चेबाट ठाडेतर्फ मोटरसाईकलमा गएको देखिएको थियो।
सिसिटिभी फुटेजकै आधारमा उनीहरुको खोजीकार्यको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक मोहविर नगालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बल सहितको संयुक्त टोली भाद्र १७ गते विहान परिचालन भएको छ ।
घटनाको प्रकृति हेर्दा मोटरसाइकल सडक बाट करिब २ सय ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको जस्तो देखिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन्।