काठमाडौं- नेपाली कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय सदस्य एवम् उपसमितिका संयोजक प्रदीप पौडेलले आज (विहीबार) उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
उनले पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई छुट्टाछुट्टै रुपमा प्रतिवेदन बुझाएका छन् । नेता पौडेलले प्रतिवेदनमा गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसको मुख्य प्राप्ति र निष्कर्ष समेटिएको बताएका छन् ।
जसमा वडागतरुपमा मत विश्लेषण गर्दा मत र पद दुवैमा कांग्रेस पहिलो भएको छ । कांग्रेसले ७५२ मध्ये ३२९ पालिका (१८८ अध्यक्ष र १४१ प्रमुख)को नेतृत्व हात पारेको छ । ३ सय पालिकामा (१९० उपाध्यक्ष र ११० उपप्रमुख) काँग्रेसले प्रतिवेदनमा उल्लेख छ । कांग्रेसले अहिलेसम्म १६६५ वडाध्यक्ष जितेको छ ।
कांग्रेसका वडा अध्यक्षका उमेदवारले पाएको मत ३८ लाख ८३ हजार १३८ रहेको छ । प्रदेशगत रुपमा पनि कांग्रेस पहिलो दल बनेको छ । सातै प्रदेशमा पहिलो भएको कांग्रेस बागमती र कर्णालीमा एमालेभन्दा दोब्बर बढी पालिका प्रमुख जित्न सफल भएको छ । ०७४ मा भएको स्थानीय निर्वाचनभन्दा यस पटक मत र पद दुबैमा कांग्रेसले प्रगति गरेको निष्कर्ष निकालिएको छ ।