गलेश्वर- बेनी अस्पतालमा उपचाररत जटिल समस्या भएका कोभिड सङ्क्रमितहरू निको हुने क्रम बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप घट्दै गएको छ । एकसाता अघिसम्म सङ्क्रमितको चाप रहेको अस्पतालमा पछिल्लो दुई दिनयता बिरामीको सङ्ख्या विस्तारै घट्न थालेको अस्पताल विकास समितिले जनाएको छ ।
चारदिन अघि १७ जना सङ्क्रमित भर्ना भएको आइसोलेसन कक्षबाट शुक्रबार पाँच डिस्चार्ज भएको स्वास्थ्यकर्मी दीपा खड्काले जानकारी दिइन् । ‘हाइफ्लो दिइरहेको एक जनाको अवस्था अलि गम्भीर छ, बाँकीको अवस्था सामान्य छ’, खड्काले भभिन् । अस्पतालमा केहीदिन अघिसम्म हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामी बढेका थिए । आइसोलेसन कक्षमा उपचाररत सबै सङ्क्रमितमा श्वासप्रश्वासको समस्या थियो ।
होम आइसोलेसनमा बसेकामा शरीरमा अक्सिजन मात्रा कम भएपछि अस्पताल आएका बिरामीमध्ये जटिललाई मात्रै पोखरा रिफर गरिएको र धेरै बिरामी बेनी अस्पतालबाट नै उपचारपछि घर फर्र्किएका अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । जिल्लामा दैनिक सयको हाराहारीमा सङ्क्रमित थपिँदा बेनी अस्पतालमा पनि उपचारका लागि आउनेको चाप बढेको थियो ।