काठमाडौँ । नेपाली काँग्रेसमा शेरबहादुर देउवा पक्ष र गगनकुमार थापा पक्षबिच आधिकारिकताको विवाद चलिरहँदा विकिपिडियामा भने नेतृत्वको जानकारी फेरिएको छ । नेपाली काँग्रेसको विषयमा लेखिएको विकिपिडिया पेजले गगनकुमार थापालाई पार्टीको सभापतीको रूपमा उल्लेख गरेको हो ।
नेपाली र अङ्ग्रेजी दुवै भर्सनको विकिपिडियामा उल्लेख भए अनुसार गगन थापा नै पार्टी सभापतिको रूपमा रहेका छन् । बुधबार मात्र काँग्रेसको विशेष महाधिवेशनबाट थापा पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । तर यसअघिको केन्द्रीय समितिमा बहुमत रहेका शेरबहादुर देउवा पक्षले भने विशेष महाधिवेशनलाई नै अस्वीकार गर्दै आएको छ । जसका कारण काँग्रेस यतिखेर दुई भागमा विभाजित भएको अवस्थामा छ ।
त्यस्तै देउवा र थापाको अङ्ग्रेजी भाषाको व्यक्तिगत विकिपिडिया पेजहरूमा पनि परिवर्तन गरिएको छ । थापालाई अध्यक्षको रूपमा उल्लेख गरिएको छ भने नेपाली काँग्रेससँग देउवाको पार्टी सम्बद्धता नै अन्त्य भएको जनाइएको छ । देउवाको व्यक्तिगत जानकारी उल्लेख गरिएको विकिपिडिया पेजमा उनी २००२ अघि र २००७ देखि २०२६ सम्म मात्र नेपाली काँग्रेसमा रहेको जनाइएको छ ।
विकिपिडियामा देखाइएको जानकारी पूर्ण रूपमा आधिकारिक मान्नु भने ठीक हुँदैन । यो ओपन सोर्स भएकाले कुनै पनि व्यक्तिले सजिलै सम्पादन गर्न सक्छन् ।