×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

माधव नेपालले देउवा-प्रचण्डलाई धोका दिने सम्भावना कति ?

माधव नेपालले देउवा-प्रचण्डलाई धोका दिने सम्भावना कति ?

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेमा विवाद बढ्दै गएपछि माधवकुमार नेपाल र झलनाथ खनाल समूह नयाँ पार्टी दर्ताको तयारीमा रहेको छ । 

नेपाल समूहको गत शुक्रबारदेखि तीन दिनसम्म जुममार्फत चलेको केन्द्रीय सदस्यहरूको बैठकले ओलीसँग सहकार्य गरिरहनुको औचित्य सकिएको निष्कर्ष निकाल्दै अलगिने जनाएको थियो । त्यसपछि आइतबार साँझ अध्यक्ष ओलीले पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए ।

त्यसयता आन्तरिक छलफलमा रहेको नेपाल समूह ओलीको त्यो प्रस्तावलाई पार्टी एकता गर्ने नभइ थप विभाजित गर्ने मनसायले आएको बताइरहेको छ ।

उता नेता नेपाल समूह प्रमुख प्रतिपक्षी दल कांग्रेस र माओवादी केन्द्रसँग मिलेर आफ्नै पार्टी नेतृत्वको सरकारको विरुद्धमा छ । नेपालसहितका नेताहरूले ओलीलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने पक्षमा हस्ताक्षर गर्दै सर्वोच्चमा बुझाएका छन् ।

ओलीको आइतबारको प्रस्तावपछि आज दिनभर नै नेता नेपाल भेटघाटमा व्यस्त रहे । नेता नेपालले दिउँसो माओवादी अध्यक्ष दाहाललाई आफ्नै निवासमा भेटे ।

देउवा निवास बुढानिलकण्ठ पुगेका नेपालले प्रचण्डसँगै बसेर देउवासँग आफ्नो रणनीति बारे बताएको बुझिएको छ । ओलीको प्रस्तावलाई औचित्यहीन कदमको निष्कर्षमा पुगेको नेपाल समूहले देउवासँग केन्द्रदेखि प्रदेशसम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रणनीतिबारे छलफल गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको लिन लागेकोमा गठबन्धन बनाएर सफलता हासिल गर्नेबारे तीन नेताले छलफल गरेका हुन् । गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव अघि बढाएर पृथ्वी सुब्बा गुरुङ्गलाई हटाउने रणनीतिबारे पनि छलफल भएको बुझिएको छ ।

प्रदेश २ मा जसपासँग सत्ता गठबन्धन गर्नेबारे पनि तीन नेताले छलफल गरेको बुझिएको छ । जसपाको महन्थ ठाकुर समूह केन्द्र सरकारमा सहभागी भएपछि मुख्यमन्त्री लालबाबु राउतले उनीनिकट ३ मन्त्रीलाई पदबाट हटाएका छन् । अब प्रदेश २ मा राउत नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना देखिएको छ । त्यतिबेला नयाँ गठबन्धन बन्‍ने अवस्था निर्माण भएको छ ।

यसैगरी, प्रदेश १ मा माओवादी केन्द्रले मुख्यमन्त्री शेरधन राईलाई समर्थन फिर्ता लिएको छ । अब उक्त प्रदेशमा पनि विरोधी गठबन्धनले राईलाई हटाउने रणनीति बनाइसकेको छ । त्यसबारे पनि गठबन्धनका शीर्ष नेताले छलफल गरेका छन् ।

यसैगरि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई एकताको ६ बुँदे प्रस्ताव गरेपछि उत्पन्‍न परिस्थितिबारे पनि नेताहरुबीच छलफल भएको छ । 

नेपालले देउवालाई यताउता नहुने भन्दै आश्वस्त रहन भनेको बुझिएको छ । गठबन्धन अझ बलियो बनाएर जानेबारे तीन नेताबीच छलफल केन्द्रित भएको छ । यसले नेपाल ओलीको प्रस्तावलाई लत्याएर देउवा-दाहाल गठबन्धनलाई नै साथ दिने देखिएको छ ।

 

प्रतिकृया दिनुहोस्