काठमाडौं - प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघीय महासभा (UNGA) को ८१औँ सत्रमा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुका ६ बजे अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री पदमा नियुक्त भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा 'गार्ड अफ अनर' ग्रहण गरी उड्ने प्रधानमन्त्रीको टोलीमा सचिवालयका ५ जना, सुरक्षाकर्मी २ जना र परराष्ट्र मन्त्रालयका प्रोटोकल विभागका २ जना रहेका छन्। असोज ९ गते बिहान महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशीको बाढी, जलवायु परिवर्तन र जलवायु न्यायका विषयलाई विश्वमञ्चमा जोडदार रूपमा उठाउनेछन्। भ्रमणका क्रममा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरी उनी असोज १० गते स्वदेश फर्किनेछन्। त्यसपछिको नेपाली प्रतिनिधिमण्डल र 'सगरमाथादेखि समुद्रसम्म' जलवायु कार्यक्रमको नेतृत्व न्युयोर्कमै रहेका परराष्ट्रमन्त्री शिशिर खनालले गर्नेछन्।