×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारका ६ महिना : प्रधानमन्त्री आफैँ असन्तुष्ट

सरकारका ६ महिना : प्रधानमन्त्री आफैँ असन्तुष्ट

काठमाडौँ -राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृद्धिको नारा दिएर कांग्रेस-एमाले गठबन्धन सरकार बनेको ६ महिना बिते पनि जनतामा आशा जगाउन सकेको छैन । ‘आमजनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्ने, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने र विकास निर्माण अभियानलाई तीव्रता दिने’ प्राथमिकतालाई यो अवधिमा सरकारले देखिने गरी अघि बढाउन सकेको छैन ।
    प्रधानमन्त्री केपी शर्मा ओली आफैँ सरकारका कामप्रति असन्तुष्ट छन् । उनले आम मानिसको निराशालाई चिर्दै आशा जगाउने र राजनीतिक स्थायित्वसहित विकास र आर्थिक समृद्धि दिने उद्देश्य अनुकूल मन्त्रालयहरूले कार्यसम्पादन नगरेको भन्दै असन्तुष्टि पोखिरहेका छन् ।
    संसद्‌को पहिलो ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच गठबन्धन भएर गत असारमा तेस्रो पटक प्रधानमन्त्री बनेका ओली यस पटक आफ्नो विगतका कार्यकालभन्दा पनि फितलो हुने स्थिति बनेको भन्दै असन्तुष्ट बनेका हुन् । सरकारका कामले गति नपाएकोमा चिन्तित प्रधानमन्त्री ओलीले गत शुक्रबार सरकारका सचिवहरूमाथि त्यही आक्रोश पोखे ।
   'समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने भन्दै सरकारले सुरु गरेका पूर्वाधार निर्माण तथा सेवा प्रवाह सुधारका लागि प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच गत भदौमा कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । त्यस बेला मुख्य गरी मन्त्रालयहरूबाट हुने विकास निर्माण र सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीको कारण पत्ता लगाई निराकरण गर्न र कामको गति बढाउन प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई निर्देशन दिएका थिए । तर उक्त सम्झौता समेत अहिलेसम्म कार्यान्वयन भएको छैन ।

प्रतिकृया दिनुहोस्